मूल्य नपाएको भन्दै सडकमा फ्याँकिएको नेपाली गोलभेंडाले बल्ल पायो मूल्य, कति पुग्यो भाउ ?

Advertisement

काठमाडौं । गोलभेंडाको मूल्य सुधार आउन थालेको छ । उचित मूल्य नपाएको भन्दै कालिमाटीको सडकमा मिल्काइएको गोलभेंडाको मूल्य अहिले भने कालिमाटी फलफूल तथा तरकारी बजारमा बढ्न थालेको हो । 

भारतबाट आयात नहुँदा नेपाली गोलभेंडाले मूल्यमा केही सुधार हुने संकेत देखिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय क्षेष्ठले बताए । 

Advertisement

गत असार ३ गते किलोको चार रुपियाँ पनि मूल्य नपाएको भन्दै किसानहरुले नै विरोध स्वरुप गोलभेंडा सडकमा फ्याँकेका थिए । उनीहरुले कालीमाटी बजारमा विरोध प्रर्दशन पनि गरेका थिए । असार ३ गते भारतीय गोलभेंडा न्यूनतम ४० रुपियाँ, अधिकतम् ५० रुपियाँ र औसत मूल्य ४५ हुँदा नेपाली टनेलको सानो गोलभेंडाको मूल्य न्यूनतम् छ रुपियाँ, अधिकतम् १० र औसत ८ रुपियाँ मात्रै थियो । 

आयातित गोलभेंडाभन्दा निकै सस्तोमा बिक्री गर्नुपरेको भन्दै नेपाली व्यवसायी र किसानले सडकमा ठूलो परिमाणमा गोलभेंडा फ्याँकेर विरोध जनाएका थिए । आज बिहीवार) कालीमाटी तरकारी बजारको मूल्य सूचीमा भारतीय  गोलभेंडा देखिएको छैन् । 


भारतीय गोलभेंडाको आयात रोक्किएका कारण नेपाली गोलभेंडाको मूल्यमा सुधार आएको सूचना अधिकारी श्रेष्ठले बताए । यसले नेपाली किसानहरुलाई पनि केही राहत हुने भएको छ । अहिले बजारमा नेपाली ठूलो गोलभेंडाको मूल्य प्रतिकिलो न्यूनतम् ६० रुपियाँ र अधिकतम् ७० रुपियाँ र औसत मूल्य ६५ रुपियाँ छ । त्यस्तैगरी, सानो स्थानीय गोलभेंडाको न्यूनतम् मूल्य प्रतिकिलो १५ रुपियाँ, अधिकतम् २० रुपियाँ र औसत १७ रुपियाँ छ । टनेलको सानो गोलभेडा न्यूनतम् १९ रुपियाँ, अधिकतम् ३० रुपियाँ र औसत २४ रुपियाँमा बिक्री भइरहेको छ । 

तराईमा गर्मी बढेसँगै गोलभेंडाको उत्पादन कम भएकाले पनि मूल्य वृद्धि भएको हो । पहाडी भेगमा उत्पादन हुने गोलभेंडा काठमाडौं उपत्यकामा मात्रै खपत नभएर बाहिरी जिल्लाहरु वीरगञ्ज, हेटौंडा, बुटवल, झापासम्म पुग्ने श्रेष्ठले जानकारी दिए । 

Advertisement

Advertisement