नेपालमा पहिलो पटक सञ्चालनमा आएको ‘कटन क्यान्डी’ उद्योगको निर्यातको समेत योजना

Advertisement

काठमाडौं । नेपालमा पहिलो पटक कटन क्यान्डी (चकलेट) उत्पादन कम्पनी सञ्चालनमा आएको दुई बर्ष भयो । वि सेल कटन क्यान्डी नामक कम्पनीमा दुई जनाको लगानी छ । 

उनीहरुले ११ लाख रुपियाँभन्दा बढी लगानीमा क्याण्डी उद्योग सुरु गरेको दुई लगानीकर्तामध्येका एक कविन मानन्धरले बताए । अर्का लगानीकर्ता देवाशिष न्यौपाने हुन् । उनीहरुको कम्पनीबाट १६ प्रकारका स्वादको चकलेट उत्पादन हुँदै आएको छ ।  

Advertisement

मानन्धरले आफ्नो क्यान्टी उद्योगबाट एउटै स्वादमा पनि विभिन्न प्रकारका चकलेट उत्पादन हुँदै आएको बताउँदै आफूहरुले भेनिला, स्टोबेरी, ब्ल्युबेरी, हुस्की, गुलाफ, नरिवल जस्ता स्वादका कटन क्यान्डी उत्पादन हुने बताए । 
 
यस्ता क्याण्डीहरु अनलाइनबाट पनि बिक्री हुनेगर्छ । साना मार्टदेखि क्याफे, बेकरीहरुमा पनि बिक्री हुने कटन क्याण्डीको बिक्रीबाट मसिक तीन लाख रुपियाँको व्यापार हुने गरेको मानन्धरको भनाई छ । उनको क्यान्डी उद्योगमा १० जनाले रोजगार पनि पाएका छन् ।  

मानन्धरले भने, हामीले व्यवसाय गर्नुअघि हाइजेनिक कपास क्यान्डी फेला नपर्ने गुनासो सुन्दै आएका थियौं । बजारमा विभिन्न खाले क्याण्डीहरु हरेक स्थानमा पाइन्छ । तर ती सबै गुणस्तरीय हुन्छन् भन्ने हुँदैन् । कतिपय मान्यताप्राप्त पनि हुँदैनन् । यस्ता कुरालाई ख्याल गरी गुणस्तरीय क्यान्डी उत्पादनका लागि सरकारबाट अनुमति लिएर बिना रसायनको कटन क्याण्डी उत्पादन सुरु गरेका हौं ।’ 

कटन क्यान्डी बालबालिकादेखि युवा र वृद्धसम्मले रुचाउने मानन्धरको दावी छ । जन्मोत्सव, विद्यालयको कार्यक्रम आदिमा उपहारको लागि बढी प्रयोग हुने उनले बताए । क्यान्डीको प्याकमा हावा पस्नासाथ क्यान्डी पग्लिने हुँदा राजधानी बाहिर पठाउँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको मानन्धरले अनुभव सुनाए । अहिले काठमाडौं उपत्यकाभित्र मात्रै बिक्री भइरहेको उनले बताए । 

वि सेल कटन क्यान्डीले उत्पादन गरेको क्याण्डी चार महिनासम्म खानयोग्य हुन्छ । तीन आकारको प्याकिङमा उपलब्ध कटन क्यान्डीको आकारअनुसार मूल्य छ । यी चकलेटको मूल्य १५० देखि २२० रुपियाँसम्म पर्छ । 

क्यान्डी उत्पादन गर्ने चार वटा मेशिन भारत र चीनबाट आयात गरेर उत्पादन सुरु गरेको बताउँदै व्यवसायी मानन्धरले अहिलेको आर्थिक मन्दीका कारण व्यवसाय विस्तार गर्न असहज भएको बताए । उनले व्यवसायलाई विस्तार गर्दै निर्यातसमेत गर्ने योजना पनि रहेको सुनाए । 

Advertisement

Advertisement