बढ्दो जोखिमका कारण सवारी बीमाको आवश्यकता झनै बढेको छः महानिर्देशक भट्टराई

Advertisement

नारायण भट्टराईले यातायात व्यवस्था विभागको महानिर्देशक (डिजी)को जिम्मेवारी सम्हालेको चार महिना भयो । विभागको कामकारवाहीलाई लिएर प्रश्न उठ्दै आएको बेला भट्टराई आएपछि आधुनिक प्रविधिबाट सरल ढंगले सेवा दिने कुरालाई जोड दिए । सवारी बीमामा बदमासी भएका उजूरी आउँदा कारवाही गर्न र समस्या समाधान गर्न आफूले काम गर्दै आएको उनी बताउँछन् । भट्टराईले दिनप्रतिदिन सवारीहरुको चाप र जोखिम बढेका कारण सवारी बीमाको महत्व बढेको बताउँछन् । उनीसँग कर्पोरेट नेपालले गरेको कुराकानीको सारः 

सवारी बीमामा अधिकांश समय दाबी भुक्तानीमा सानातिनादेखि ठूलासम्म समस्या पाइन्छ । यसको कारण के होला ? समाधनका उपायहरु के के छन् ?
बीमा भनेको बीमक र बीमित बिचको सम्झौता हो । त्यही सम्झौतामा बीमा कम्पनीले र बीमित दुवैले सबैभन्दा पहिले भविष्यमा हुनसक्ने क्षतिमा कस्ले–कति व्यहोर्ने ? भन्ने एक किसिमको सूची तयार गर्छन् । सोही आधारमा बीमितले पनि शर्त पालना गर्नुपर्छ । व्यवसायमा शर्त पालना भएन भने सरकारी निकाय मध्यस्तकर्ता हुन्छ । त्यो मध्यस्तकर्ताको काम कहिले हामीले, ट्राफिक प्रहरीले र कहिले बीमाको नियामकले पनि काम गर्नुपर्छ । सवारी बीमा अत्यन्तै आवश्यक छ । आजको दिनमा यसको महत्व त झन बढेको छ । गलत बाटोमा बीमा कम्पनी वा सवारी पक्षको गएका छन् भन्नेमा हामीले मध्यस्थकर्ता गरिरहेको अवस्था छ ।

Advertisement

बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले गरेको कामलाई कसरी हेर्नुहुन्छ ?
कानुनी रुपमा बीमा कम्पनीहरुलाई गर्नुपर्ने काम बीमा प्राधिकरणले गरिरहेको छ भने आवश्यकता अनुसार हामी कहाँ आएका गुनासाहरुलाई हामीले नै मध्यस्तकर्ता गर्दै आएका छौं । हामीले बीमितहरुको समस्यामा बीमा प्राधिकरणले जस्तै एउटा ग्राहक, व्यवसायीले राखेका समस्याहरुलाई नियालेर हेर्ने र त्यसको सकेको समाधान दिने काम गर्दै आएका छौं ।

अहिले यात्रुहरुलाई पनि बीमांक रकम दिने गरिएको छ । यसमा हेरफेर गर्ने केही योजना बनाउनु भएको छ कि छैन् ?
यो विषयमा छलफल भइरहेको छ । यसमा दुईथरी प्रतिक्रिया आएका छन् । एकथरीले यसलाई बढाउनुपर्छ भन्नु भएको छ भने अर्कोतर्फ अर्कोथरीले भइरहेको व्यवस्था पनि ठिक छ भन्नुभएको अवस्था छ । त्यसैले तपाईंले भन्नुभएको यस विषयमा अध्ययन भइरहेको छ ।

सार्वजनिक तथा निजी सवारीलाई सुरक्षित बनाउन के कस्ता नीति अपनाउनु भएको छ ?
यसमा यातायात व्यवस्था विभाग मात्रै सबैथोक होइन् । हामीले विभिन्न निकायसँग समन्वय गरिरहेको अवस्था छ । गाडीहरु जाँच्ने लगायतका हार्डवेयर, चालकको अनुशासन र सडकको अवस्थाका बारेमा हामीले काम गरिहेका छौं । अहिले स्थानीय तह र ट्राफिक प्रहरीहरुले पनि सडक सुरक्षाका बारेमा काम गरिरहनु भएको छ ।

यातायात र मदिराको पूरानो साइनो रहेजस्तो पाइन्छ । मदिरा सेवनले हुने दुर्घटनामा यहाँहरु कतिको गम्भीर हुनुहुन्छ ?
दुर्घटनाका कुराहरु भनेको निकै गम्भीर विषयहरु हुन् । हामीले सवारी चालक अनुमतिपत्र लाइसेन्स दिने बेलामा पनि स्वास्थ्य परीक्षण गर्नेगरेका छौं । त्यस्तै, लाइसेन्सको नवीकरणको बेलामा पनि पुनः स्वास्थ्य परीक्षण गर्ने गरेका छौं । अब लाइसेन्स दिने बेलामा चालकले मदिरा सेवन गरेको हुँदैन् । तर लाइसेन्स लिएर सवारी चलाउने बेलामा उनीहरुले मदिरा सेवन गर्न रुचाएको पाइन्छ । यस्तो अस्थामा यात्रुले अरुलाई भन्दा पनि आफैलाई ठूलो असर पारेको हुन्छ । हामीले चालकहरुको नेत्र चेकजाँच गर्छौ । त्यसरी गरिने नेत्र परीक्षणले पनि निकै हदसम्म दुर्घटना न्यूनीकरण गरेको अवस्था छ ।

बेला बेलामा भाडादर अनियमितताका कुराहरु आउछन् । यसमा के गर्दै हुनुहुन्छ ?
यो यातायात क्षेत्र निकै ठूलो क्षेत्र छ । त्यसैले यसमा राम्रा पक्ष मात्र छन् भन्ने छैन् । यात्रुसँग जोडिएका भाडा अनियमितताका केही गम्भीर विषयहरु छन् भने हामीले त्यस्ता गतिविधि नियन्त्रण लिन काम गरिरहेको अवस्था छ । हामीले सम्पर्क नम्बर नागरिकलाई दिएर नै काम गरिरहेको अवस्था छ । यात्रु पनि आफ्नो भाडा दरको बारेमा सजग रहनुपर्छ । यसमा ट्राफिक प्रहरी तथा सरकारी निकायहरुले पनि काम गरिरहेको अवस्था छ । तोकिएको भाडादर लागू गर्ने कुरा सबैका लागि राम्रो कुरा पनि हो ।

नेपालको यातायात क्षेत्रमा व्यवसायीहरुको देखिँदो नदेखिँदो सिन्डिकेट रहेको देखिन्छ । यसको अन्त्य कसरी गर्नु हुन्छ ?
सिन्डिकेट हटाउन सरकारबाटै ठूला प्रयासहरु भएका छन् । अहिले पनि विभिन्न निकायहरुबाट आवश्यक कामहरु भइरहेको अवस्था छ । त्यती हुँदाहुँदै पनि आम मानिसलाई यातायातमा केही समस्या आएमा त्यसको समाधानका लागि हामी क्रियाशील छौं । 

ट्राफिक नियम पालन गर्न आनाकानी हुने गरेको छ । यस्तो किन हुन्छ ? नियमकानुन अनावश्यक रुपमा कडा भएर हो वा जनचेतनाको कमी हो ?
ट्राफिक नियम भनेको यात्रुको हितको लागि बनाइएको हो । यात्रुको शरिर र सवारीलाई जोखिमबाट टाढा राख्न यस्ता नियमहरु बनाइएका हुन् । अहिले त ट्राफिकहरुले चालकले नदेख्ने गरेर क्यामेरा प्रयोग गरेर पनि ट्राफिक नियमको पालना गराइरहेको अवस्था छ । ट्राफिकले राजश्व उठाउन मात्र नभई जनधनको सुरक्षाका लागि नियम कानुनमा कडाई रहेको हुन्छ ।

समग्र यातायात क्षेत्रमा दुई वटा हेल्मेट, सवारीको अवस्था, चालकको योग्यता, सडक क्षमता सबैमा प्रश्न उठ्ने गरेको पाइन्छ । यस्ता किसिमका समस्या समाधानका लागि यहाँहरुले चाल्ने ठोस कदमहरु के के हुन ? 
हामीले देशको कानुन तथा अन्तर्राष्ट्रिय कानुन दुवैलाई मान्नु पर्छ । यस बिचमा व्यवसायीहरुको माग र व्यवहारिक पाटो पनि सँगसँगै आउने गर्छन् । कानुनले नै दुई वटा हेल्मेटको व्यवस्था गरेको अवस्था छ । विगतमा म यातायात कार्यालयमा आउनुभन्दा पहिले नै यो कुरा चलेको थियो । कानुन र जनभावना फरक कुराहरु हुन् । कानुन बलियो बनाउन जनभावना पनि कानुन मान्ने किसिमको बन्नुपर्दो रहेछ । हामीले ससानो चोटदेखि आम मानिसमा गम्भीर समस्या आउने अवस्थाको अन्त्य होस् । 

अन्यमा थप केही भन्न चाहानु हुन्छ ?
अनलाइनबाट लाइसेन्स नवीकरण गर्ने प्रणाली कास्कीबाट सुरुवात गरिएको छ । यसलाई सबै जिल्लामा बिस्तार गर्ने योजना पनि छ । यातायात प्रणालीलाई नै व्यवस्थित र विश्वसनीय बनाउन काम गरिरहेको अवस्था छन् । यसमा केही कुराहरु जटिल पक्कै छन् । तर, त्यस्तो जटिल पक्षहरु सुधार गर्न पनि हामीले मेहनत गरिरहेको अवस्था छ । छिट्टै हामीले गरेका मेहनतहरु पनि क्रमशः देखिदै जानेछन् भन्नेमा हामी आशावादी पनि छौं ।

Advertisement

Advertisement