भौतिक पूर्वाधारको पूरानै प्रतिवद्धता– असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छौं

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा उनले अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक बिपत्तिहरु भइरहेका स्वीकार गरे । 

असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पूरानै प्रतिवद्धता दोहोर्याउँदै ज्वालाले डोजरे विकासका कारण सयौँ बिगाहा खेतीयोग्य भूमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताए । उनले काठमाडौं लगायत विभिन्न राजमार्गहरुमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको पनि बताए । 

Advertisement

सवारी चालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने ज्वालाले बताए । उनले भने, ‘निश्चय पनि सडक निर्माण एक प्राविधिक विषय हो । बिना अध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति हुँदै गइरहेको कुरा सत्य हो । कठिन भू–बनोटबाट सडक निर्माण गर्नुपर्ने, चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने, सडक निर्माणको क्रममा निस्किएका ढुंगा माटोको उचित व्यवस्थापन नहुँदा त्यस्तो डोजरे विकासले सयौँ बिगाहा खेतीयोग्य भुमि पुरिने र बहुमुल्य पुल तथा पूर्वाधारमा क्षति हुने गरेको छ ।’ 

ज्वालाले थपे, ‘हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छौँ । राजधानी काठमाडौं र विभिन्न राजमार्गका खाल्डाखुल्डी मर्मत सम्भार गरेर यात्रुहरुलाई पीडा हुन नदिन मन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिइसकिएको छ । सवारी चालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिँदैछ । सवारी चालक अनुमतिपत्र नविकरणको अवधि पाँच वर्षबाट बढाएर दश वर्ष बनाइएको छ । इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा लेख्ने निर्णय भइसकेको छ ।’ 

उनले नारायणघाट–मुग्लिन सडक खण्डमा पहिरोका अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समाधानमा उपाय खोजी गरी कार्यान्वयन गरिने बताए । त्यस्तै, पृथ्वी राजमार्गको नौबिसे–काठमाडौं सडक खण्डको पनि बिस्तार कार्य अगाडी बढाइरहेको ज्वालाले बताए । 

Advertisement