चलचित्र पत्रकारिता कम विश्वसनीय हुँदै गयो, कलाकार, बन्दुक तेर्स्याए जस्तो लाग्छः दीपा

Advertisement

काठमाडौं । कलाकारहरुले नेपाली चलचित्र पत्रकारिताको विश्वसनियता कम हुँदै गएको बताएका छन् । नेपाली चलचित्रमा मिडियाको प्रभावसम्वन्धी शुक्रबारको एक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । 

कलाकारहरुले नेपाली सिने क्षेत्रमा कलम चलाउनेहरुले चलचित्र क्षेत्रका खोजमूलक समाचार लेख्न सक्नुपर्ने बताए । उनीहरुले चलचित्र क्षेत्रमा भएका विकृतिहरुको बारेमा पनि सिने पत्रकारहरुले कलम चलाउनुपर्ने बताउँदै सानो गल्तीलाई पनि मलजल गरेर ठूलो बनाइदिने परिपार्टीले गर्दा आत्महत्यासम्मको बाटो राज्नुपरेको उदाहण दिए । 

Advertisement

अभिनेत्री दीपाश्री निरौलाले मिडिया भन्ने बित्तिकै पछिल्लो समय आफूलाई बन्दुक तेर्साएको जस्तो हुने गरेको बताइन् । निरौलाले कतिपय सञ्चारमाध्यमहरुले सानो गल्तीलाई मलजल गरेर ठूलो बनाइदिँदा कलाकारहरु आत्महत्याको बाटो रोज्नुपर्ने स्थितिसम्म पुग्ने गरेको उनको भनाई छ । 

निरौलाले भनिन्, ‘मिडिया भन्नेबित्तिकै पहिला त ‘फ्रेण्ड्ली’,  रमाइलो, भन्ने लाग्थ्यो । अहिले त बन्दुक तेर्स्याए जस्तो लाग्छ । आजकाल म धेरै कम अन्तरवार्तामा जाने गर्छु । अहिलेको जमाना देखिहाल्नु भएको छ । सञ्जाल धेरै छ । मान्छे हो । गल्ती त हुन्छ । तर त्यसलाई मलजल गरेर मर्न बाध्य गराइन्छ ।’ 

अभिनेत्री केकी अधिकारीले पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनियता भए पनि पछिल्लो समय विश्वसनियतामा कमी आउने बताइन् । 

उनले स्रोत भनेर उल्लेख गरिए पनि कतिपय समाचार बिना श्रोत बनाइने गरेको बताउँदै चलचित्रसम्बन्धी समाचार बनाउँदा, अन्तर्वार्ता लिँदा पूर्वतयारी हुनुपर्ने बताइन् । अधिकारीले भनिन्, ‘पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनियता हो । जति पाठक हुनुहुन्छ, उहाँहरुले कतिको विश्वास गर्नुहुन्छ ? त्यो नै सम्पत्ति हो ।’

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्रको समीक्षा गर्दा पूर्वाग्रही हुने गरेको बताए । यस्ता कुरामा यथार्थता पस्कनुपर्ने उनले बताए । निरौलाले महिला कलाकार र पुरुष कलाकारमाथि पनि हिंसाका घटनाहरु बढिरहेको बताए । 

महिला कलाकारमाथिका अभद्र व्यवहार बाहिर आउन नसकेकाले यस्ता घटनामा उहाँहरुलाई सम्झाउन सके घटनाहरु बाहिर आउने उनको  भनाई छ । 

कार्यक्रमका अन्य वक्ताहरुले चलचित्र क्षेत्रलाई राज्यले महत्वपूर्ण क्षेत्र हो भनेर मान्न नसकेको गुनासो गरेका थिए  ।

Advertisement