'सरेण्डर' बढ्दैमा चिन्ता लिनुपर्ने अवस्था छैन: पराजुली, 'प्लाण्ड सरेण्डर' रोक्दैछौंः पौडेल

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले बीमा क्षेत्रमा हुने बीमालेख समर्पण (सरेण्डर)लाई यस क्षेत्रको रोगको रुपमा बुझ्न नहुने बताएका छन् । 

बीमितलाई सरेण्डरको आवश्यकता पर्ने भएकाले नै यसको व्यवस्था बीमामा राखिएको हो भन्दै उनले सरेण्डर गर्न गर्न जबरजस्ती रोक्ने कुरा उचित नहुने संकेत गरे । यसले बीमितको अधिकार कुण्ठित हुने पराजुलीले बताए । 

Advertisement

यता नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले पनि सो कुरालाई स्वीकार गरेको छ । सरेण्डरभन्दा पनि ‘प्लाण्ड सरेलण्डर’ घातक भएको र यस्तो खालको सरेण्डरलाई चाहिं आफूहरुले निरुत्साहित गर्न खाजेको प्राधिकरणको भनाई छ । 

सीईओ पराजुलीले बीमितले गर्ने जुनसुकै सरेण्डर राम्रो नभए पनि यो बीमाको हिस्सा हो भने । उनले भने, ‘वास्तवमा सरेण्डर त बीमा क्षेत्रमा आवश्यक भएर नै यसलाई बीमाको महत्वपूर्ण अंश बनाइएको हो । सकेसम्म बीमितले सरेण्डर नगर्दा रामं्रो । तर समस्या परेर गर्दा पनि किन गरेको ? भन्न मिल्दैन् ।’

अहिले पूराना तथा ठूला बीमा कम्पनीहरुको पनि ठूलो मात्रामा सरेण्डर भएको सूचना फैलाउने काम भएको भन्दै पराजुलीले थपे, ‘जुन कम्पनी पुरानो हुन्छ, उसले अरुले भन्दा धेरै व्यवसाय गरिसकेको हुन्छ । बीमालेख धेरै मात्रामा बिकेको हुन्छ । त्यसरी नै बीमितहरुले बीमालेख त्याग्न चाहनेको मात्रा पनि बढि देखिने सम्भावना हुन्छ ।’

उनले जति बेला धेरै जनाको बीमा गरिन्छ, त्यतिबेला धेरै बीमाबाट बाहिरिने धेरै बढी हुनसक्छन् भने । अहिले सरेन्डरको नाम नै सुन्न नहुने गरी सरेन्डर भनेको बीमा क्षेत्रको रोगको रुपमा स्थापित गर्ने प्रयास भएकोमा पराजुलीले असन्तुष्टि जनाए । यस्ता विषयमा जीवन बीमक संघ पनि गम्भीर हुनुपर्ने उनको भनाई छ । 


पराजुलीले भने, ‘एकै पटक धेरै ठूला पोलिसिहरु बिक्री गर्ने अनि अस्वाभाविकरुपमा सरेण्डर भयो भन्ने भन्दा पनि हाम्रो नियामकले यसको जरा पत्ता लगाएर हल गर्न सकेमा यो क्षेत्र लाभान्वित हुन्छ ।’ उनले अहिलेको विषयम आर्थिक अवस्था र आर्थिक मन्दीको स्थितिले सरेण्डर बढेको हुनसक्ने बताए । 

पराजुलीले भने, ‘अहिले देशकै आर्थिक स्थिति त्यति राम्रो छैन् । उद्योगीहरुले लगानीको वातावरण खोजिरहेको बेला छ । बैंकको व्याजदर पनि चर्को नै रहेको बेलामा बीमितहरुलाई पनि सरेण्डर एउटा बाध्यता बनेको हुनसक्छ । तर यसमा पनि अध्ययन चाहिं हुनुपर्छ के भएको हो ? वास्तविक समस्या बुझेर समाधान दिनुपर्छ ।’

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरेण्डर भयो भन्दैमा आत्तिनु जरुरी नरहेको बताए । कहिले बीमा गर्ने ह्वात्तै पनि बढ्ने कहिले सरेण्डर बढ्ने हुनसक्छ भन्दै समस्या नै आउँदा त्यो बेलामा नियामकले हेर्ने बताए । 

पौडेलले भने, ‘सरेण्डर नै चाहिँदैन भन्ने कुरा बीमाले कहिल्यै गर्दैन् । बीमा कम्पनीहरुले बीमा गराउने हो । उहाँहरुको जोखिम लिने काम गर्ने हो । अब कुनै कारण बीमितहरुले ठूलो मात्रामा सरेण्डर गर्न थाल्नुभयो भने त्यसमा नियामकले हेर्नुपर्छ । हामी हेर्छौ । यस्तो कुरामा प्राधिकरण चुप लागेर बस्दैन् ।’ 

उनले योजनावद्धरुपमा सरेण्डर हुने गरेको देखिएको बताउँदै त्यो भने चिन्ताको विषय हो भने , त्यस्ता ‘प्लाण्ड सरेण्डर’ बीमा क्षेत्रको विकृति हो भन्दै यो रोग नै हो भने । पौडेलले आफूहरुले प्लाण्ड सरेण्डर रोक्न खाजेको र यसका लागि पहल भइरहेको बताए । 

Advertisement