यो आर्थिक बर्ष बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने बर्ष होः पौडेल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले यो आर्थिक बर्ष २०८०–८१ बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने बर्ष भएको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले पुँजी वृद्धिमार्फत बीमा कम्पनीहरुलाई आर्थिकरुपमा सबल बनाउने काम सम्पन्न भइसकेको बताउँदै यो आर्थिक बर्षमा प्रविधिको प्रयोगलाई जोड दिने बताए । साथै, पौडेलले यो बीमाले धेरैलाई रोजगारी दिने पनि दावी गरे । 

Advertisement

उनले भने, ‘गएको आर्थिक बर्षमा धेरै बीमा कम्पनीहरुलाई एक बनाउन सफल भयौं । उनीहरुले पुँजी वृद्धिको योजना पालन गरेकाले उनीहरुको जोखिम धारण क्षमता झन सबल बनेको छ । अब यो बर्ष उनीहरुलाई आधुनिक प्रविधिको प्रयोगमार्फत सर्वसुलभ बीमा सेवा प्रवाह गर्ने कुरामा जोड दिन्छौं ।’ 

पौडेलले बीमालाई देशभर नै विस्तार गर्न सकिने अवसर हामीसँग छ भन्दै यसका लागि हालै लाइसेन्स पाएका लघुबीमा कम्पनीहरु र मर्जरमा गएका कम्पनीहरुको प्रतिफल हेर्न बाँकी छ भने । लघुबीमा र ठूला बीमा कम्पनीले अप बनाउने भनेको प्रविधिमैत्री सेवा नै हो भन्दै उनले यसका लागि आफूहरुले दबाब पनि दिँदै आएको बताए । कम्पनीहरुले जति प्रविधिमैत्री सेवा दिन्छन्, त्यति नै उनीहरुको व्यापार बढ्ने र सञ्चालन खर्च घट्ने पौडेलले बताए । 

उनले भने, ‘बीमामा अबको दिनमा प्रविधिमा अभ्यस्त रहेका जशक्तिका लागि पनि प्रशस्तै रोजगारीको अवसर छ । अहिलेको बीमा बजारलाई पहिलेकोसँग तुलना गर्न मिल्दैन् । किनभने अहिले सबैको हातहातमा मोवाइल छ । अब त बीमा बेच्ने भनेको बीमा कम्पनीहरुले बीमितहरुको माग के कस्तो छ ? त्यसलाई बुझेर व्यापार गर्ने हो ।’ 

दाबी भुक्तानीमा अझै पनि केही चुनौती रहेको पौडेलले बताए । उनले दाबी भुक्तानीलाई सहज र सरल बनाउन पनि यो आर्थिक वर्षका काम गर्नुपर्छ भन्दै  दाबी भुक्तानी वर्ष मनाउने घोषणा समेत भइसकेको स्मरण गराए । अबका बर्षमा बीमा कम्पनीले दावी भुक्तानी दिन आनाकानी गर्छन् भन्दा पनि सहजरुपमा दिन्छन् भन्ने कुरा व्यवहारबाट सन्देश दिनसक्नुपर्ने पौडेलले बताए । 

उनले थपे, ‘पहिले बीमा भनेको शहरको लागि हो । हुनेखाने वर्गको लागि हो भन्ने थियो । अबका दिनमा बीमा भनेको ग्रामीण तहका लागि समेत हो भनेर खबर फैलाउन जरुरी छ । वास्तवमा बीमा भनेको सबैको लागि हो । अहिले त पहिलेभन्दा बीमाको जनचेतना बढेकै छ । तर यसमा पनि अझै गृहकार्य गरेर सबैलाई बीमाको करारहरुका बारेमा जानकारी गराउन जरुरी छ ।’

लघुबीमामा समेत अभिकर्ता चाहिने भएकाले आगामी दिनमा संख्यात्मक भन्दा पनि गुणात्मक अभिकर्ता बढाउन प्राधिकरणले काम गर्ने पौडेलले बताए । उनले बीमाको दायरा बढ्दो क्रममा देखिएको बताउँदै यसका विविध पक्षहरुमा सुधार गरी जनताले महसुश गर्ने किसिमले काम गर्न जरुरी रहेको बताए । 

Advertisement

Advertisement