सुन तस्करीः रेडी ट्रेड नामक कम्पनीको नाममा १०२० पिस ‘ब्रेक–प्याड’को भन्सार जाँचपास

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरिएको भोलिपल्ट थप सुन लुकाएर ल्याइएको आशंकमा सवारी साधनको पार्टपुर्जा (ब्रेक प्याड) एक हजार २० पिस जफत गरिएको छ । 

राजश्व अनुसन्धान विभागले यसअघि सुन तस्करी भएको भनेर सुचना दिने स्रोतले नै थप सुन तस्करी भएको सुचना दिएपछि आज विमानस्थलमा ती सामान जफत गरी चेकजाँच गरिएको हो । 

Advertisement

जफत गरिएका सामान रेडी ट्रेड प्रा.लि.ले आयात गरेको देखिन्छ । विभिन्न मितिमा आयात भएका यी सामानको निर्यातकर्ता चीनको जियाङजेन फेङटङ ट्रान्सपोर्ट सर्भिस नामक कम्पनी भएको विवरणबाट देखिन्छ । हङकङ हुँदै विभिन्न मितिमा आएका यी सामान भित्र सुन रहेको सुचना हङकङको सुराकीले आफूहरुलाई दिएको राजश्व अनुसन्धानका एक कर्मचारीले बताए । जफत गरिएका यी सामानको तौल ९३३ किलो छ । तर यसमा सुन भएनभएको भने अहिलेसम्म पुष्टि भएको छैन् । 

एक चिनियाँ पक्राउ
बुधबार जफत भएको अहिलेसम्मकै ठूलो परिमाणको सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले एक चिनियाँलाई पक्राउ गरेको छ । उनी नेपालमा अवैध सुन भित्राउने कार्यमा संलग्न महत्वपूर्ण व्यक्ति भएको जनाइएको छ । 

बुधबार बरामद भएको अवैध सुन नेपालमा कस्का लागि ल्याइएको थियो ? कहाँ लैजान ल्याइएको थियो ? अहिलेसम्म प्रहरीले पत्ता लगाउन भने सकेको छैन् । बरामद भएको सय किलोभन्दा बढी सुन भित्राउन मुख्य भूमिका खेल्ने चिनियाँ नागरिक लिङ चुवानलाई भने पक्राउ गरिएको हो । 

उनलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएको जनाइएको छ । 

Advertisement

Advertisement