सुन तस्करीको अनुसन्धानमा प्रहरी पनि सहभागी, संगठित अपराधमा अनुसन्धान गरिने

Advertisement

काठमाडौं। राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको सय किलोभन्दा बढी अवैध तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरी पनि प्रवेश गरेको छ । 

सोमबारबाट राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरी मिलेर अनुसन्धान सुरु गरेका हुन् । उता भन्सार विभागले पनि समिति बनाएर छानविन गरिरहेको छ । 

Advertisement

राजश्व अनुसन्धान स्रोतका अनुसार अब राजश्व चुहावट र संगठित अपराधमा अनुसन्धान सुरु गरिनेछ । उनले भने, ‘प्रहरीसँग जस्तो राजश्व अनुसन्धान विभागसँग अनुसन्धानको पूर्वाधार छैन् । यसले राजश्व चुहावटको पाटो हेर्ने हो । प्रहरी पनि सामेल भएपछि अनुसन्धान थप सशक्त हुन्छ । अब संगठित अपराधमा पनि अनुसन्धान हुन्छ ।’

पछिल्लो सुन तस्करी प्रकरणमा विभागले हालसम्म झण्डै डेढ दर्शनलाई पक्राउ गरिसकेको छ । गत मंगलबार विशेष सूचनाको आधारमा विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल भन्सार कार्यालयबाट जाँचपास भएको १६० किलो ब्रेक सु सुन भएको प्रमाणित भएको छ । सुन कति परिमाणमा रहेको छ ? एक हप्तापछि नेपाल राष्ट्र बैंकले जानकारी दिनेछ । 

यो सामान रेडी ट्रेड प्रा.लि.ले हङकङबाट भित्राएको हो । उक्त कम्पनीले तीन महिनायताको आयात गरेको सामान एक हजार ८४५ किलो छ ।

सुन तस्करीको जालो पत्ता लगाउन राजश्व अनुसन्धान विभागले निर्देशक बिनोद लामिछाने, सन्तोष पौडेलसहित पाँच जनाको समूह बनाएको छ । टोलीले पक्राउ परेका व्यक्तिहरुको बयान लिन सुरु गरेको छ ।

अब प्रहरीले तस्करीमा जोडिएका व्यक्ति पत्ता लगाउन र पक्राउ गर्न सबै प्रविधिको प्रयोग गर्न सक्नेछ । यसअघि विभागले सशस्त्र प्रहरीमार्फत आरोपितहरु पक्राउ गर्दै आएको थियो । प्रहरीले भन्सार एजेन्टसहित ६ जनालाई आइतबार पक्राउ गरेको छ । भन्सारमा खटिएका कर्मचारीले सेटिङमा सुन छुटाएका हुन कि भुलबस छुटाएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिवि भन्सार कार्यालयमा प्रहरी खटाउनु पर्ने बताएका छन् । यसअघि प्रहरी नै सुन तस्करीमा संलग्न हुने गरेको देखिएपछि हटाइए पनि अहिले पुनः खटाउनुपर्ने खाँचो औंल्याइएको हो । भन्सार विभागले भने बिना दक्षता प्रहरी खटाएर कुनै नतिजा नआउने बताएको छ । 

Advertisement

Advertisement