हवाई र सडक यातायातमा सुधार नभएसम्म पर्यटक बढ्दैनन्ः पर्यटन व्यवसायी

Advertisement

काठमाडौं । पर्यटन व्यवसायीहरुले हवाई र सडक यातायातमा सुधार नआएसम्म पर्यटकहरु नेपाल नबढ्ने बताएका छन् । क्षेत्रीय होटल एसोसिएशन चितवनका अध्यक्ष गंगा गिरीले हवाई सेवा पूर्ववतरुपमा सुचारु हुनुपर्ने र सडक यातायातको अवरोधहरु चाँडै हटाउनुपर्ने बताए । 

उनले भने, ‘ ‘चितवनको मात्र नभएर नेपालकै पर्यटनको कुरा गर्दा जबसम्म एयरलाइन्सहरु पहिल्लो स्थितिमा सञ्चालन हुँदैन्, होटलहरुको व्यवसाय पनि त्यही स्थिति फर्किने भन्ने कुरा आउँदै आउँदैन ।’ पर्यटन क्षेत्रलाई सानो सानो कुराले असर गर्ने गिरीले बताए । 

Advertisement

उनले थपे, ‘चितवनको मात्रै कुरा गर्दा पहँच नै छैन् । काठमाडौं, पोखरा र बुटवलको पनि त्यही हालत छ । बाटो खनेर त्यतिकै छोडेर राखेको छ । त्यस्तो अवस्थामा पर्यटकहरु कसरी एक ठाउँबाट अर्को जाने ?’ 

सबै पर्यटकहरुले जहाजमा खर्च गरेर घुम्न नसक्ने बताउँदै पर्यटन व्यवसाय टिक्ने भनेको नै आन्तरिक पर्यटकले हो भने । यतिबेला सुरक्षाका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानहरुमा कडाई गरेको छ । त्यसमाथि मौसम खराब भइरहने हुँदा नियमित उडानहरु पनि प्रभावित भइरहने अवस्था छ । 

गिरीले अहिले विदेशी पर्यटकहरु आउन नसकेको बताउँदै पहिला चितवन सुविधाजनक भए पनि अहिले बाटोले गर्दा असुविधाजनक बनेको बताए । अहिले चितवनमा पर्यटकहरु २५ प्रतिशतको हराहारीमा रहेको उनले बताए । मनसुन सिजन भएकाले पर्यटन व्यवसाय त्यति नरहेको बताउँदै गिरीले अगस्टपछिको लागि भने ७५ प्रतिशत बुकिङ भइसकेको बताए । 

होटल संघ नेपाल (हान)का पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदीले अहिले अफ सिजन भएकाले पोखरामा पर्यटक कम रहेको बताए । उनले भने, ‘पाँचदेखि दश प्रतिशत मात्र पर्यटकहरु पोखरामा छन् होला । सेप्टेम्बरपछि मात्र बुकिङहरु आउन थाल्छ । केही भारतीय पर्यटकहरु गर्मी छल्न आएका छन् ।’ यद्यपि पोखरा आन्तरिक पर्यटकहरुको पनि रोजाईको ठाउँ हो । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलमा सीसीटीभी र बत्तिहरु जडानको काम भइरहेको बताए । उनले धेरैसँग सहकार्य गरेर र सहयोग लिएर यो काम गर्नुपर्ने भएकाले अपेक्षा गरेअनुसारको काम हुन नसकेको बताए । 

शर्माले आउने सिजनको लागि ठमेलका होटल तथा ट्राभल एजेन्सीहरुमा बुकिङहरु राम्रै रहेको बताए । उनले होटलहरुमा राम्रै अकुपेन्सी रहेको र आउने सिजनका लागि बुकिङ राम्रो आइरहेको बताए । शर्माले ठमेल पर्यटन महोत्सवको तयारी पनि आफूहरुले गरिरहेको बताए । 

Advertisement

Advertisement