भारतको प्रतिवन्धको असर पर्ननदिन सरकारले भारतसँग १० लाख टन धान किन्नुपर्छः दुगड

Advertisement

काठमाडौं । नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्ष कुमुदकुमार दुगडले सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल निर्यात प्रतिवन्धको असर नपर्ने बताएका छन् । 

नानसँगको कुराकानीमा उनले भारतले चामल निकासीमा प्रतिवन्ध लगाए पनि नेपालमा धान निर्यात खुला रहेकाले सरकारले भारत सरकारसँग पहल गरी धान खरिद गर्नसके चामल प्रतिबन्दको असर नपर्ने बताएका हुन् । 

Advertisement

दुगडले भारतले नेपाल मात्रै नभएर विश्वभर चामल निकासी प्रतिवन्ध लगाएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए । चामल आयातको प्रतिवन्धले पर्ने असर कम गर्न सरकारले भारत सरकारसँग १० लाख टन धान माग तत्काल गर्नुपर्ने उनले बताए । दुगडले भारतसँग वार्षिक ६ लाख मेट्रिक टनसम्म धानमा कर छुटको कोटा भए पनि कोटा सक्किएकाले थप समस्या हुनसक्ने दुगडले बताए । 

उनले नेपालको नयाँ धान नोभेम्बरमा आउने तर त्यो भन्दा पहिला नेपालीहरुको महान पर्व दशैँतिहार आउने भएकाले थप चुनौतिपूर्ण अवस्था देखिएको बताए । दुगडले भारतले चामल निकासी प्रतिवन्ध लगाए पनि नेपाललाई धान आयातमा फाईदा रहेको उल्लेख गरे । उनले खुला सिमानाको कारण अन्य बाटोबाट चामल आउनसक्ने बताए । 

दुगडले  सरकारले सबै विषय वस्तुलाई हेरेर निर्णय लिनुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालमा उत्पादन क्षमता ठूलो रहेकाले भारतबाट धान आयात गर्नसके चामल उत्पादन गरेर नेपालको खपतलाई परिपूर्ति गर्न सकिने बताए । दुगडले भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धान चामलको निर्यातमा २० प्रतिशत कर लगाउन शुरू गरेको बताए । 

उनले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा करिव साढे पाँच लाख टन अर्थात ४७ अर्ब ५९ करोड रुपियाँको धानचामल आयात भएको र ६ लाख टन धान आयात भएको बताए । उनले भारतले चामलमा २० प्रतिशत कर लगाएपछि चामलको आयात तीन लाख कम हुँदा धानको आवश्यकता बढी भएको बताए । 

अध्यक्ष दुगडले नेपालमा ५५ लाख टन धान उत्पादन हुन्छ भन्ने सरकारको तथ्याङ्क रहे पनि तथ्याङ्क अनुसार परिमाण नदेखिएको बताए । उनले ५५ लाख धान उत्पादन भए चामलमा आत्मनिर्भर हुने तर यकिन डेटा नभएर समस्या रहेको बताए । दुगडले सरकारी डेटा र चामलको खपत हेर्दा म्याच नभए पनि नेपालमा वार्षिक २५ लाख टन चामल खपत हुने गरेको बताए । 

उनले मूल्यवृद्धि चामलको माग र आपूर्तिमा निर्भर हुने भन्दै चामल मिल र व्यापारीहरुले मूल्यमा केही गर्न नसक्ने बताए । दुगडले माग अनुसार आपूर्ति हुँदा मूल्यवृद्धि नहुने बताए । यदी माग बढ्यो भने र आपूर्ति कम हुँदा मूल्यवृद्धि हुने उनको भनाई छ । दुगडले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सरकारले तत्काल भारत सरकारसँग धानको माग गर्नुपर्ने आवश्यकता रहेको बताए । 

उनले सरकारले समयमा नै धान माग गरेर ल्याउनसके समस्या नआउने उल्लेख गरे । अध्यक्ष दुगडले चामल दुई महिनाको मौज्दात रहेको भन्दै त्यो मौज्दात कम हुँदै जाँदा बजारमा विभिन्न खालका समस्या आउन सक्ने बताए । उनले सरकार र निजी क्षेत्र मिलेर काम गर्दा समस्या समाधान हुनसक्ने बताए । 

भारतले बासमती बाहेकका चामलको निर्यातलाई साउन ४ बाट लागू हुनेगरी रोक लगाएको छ । खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रणको प्रयासस्वरूप भारतले चामल निर्यातमा प्रतिवन्ध घोषणा गरेपछि नेपालमा पनि अभाव सिर्जना हुने र मूल्य बढ्ने अनुमान गरिएको छ । दक्षिणी छिमेकी भारतले चामल निर्यातमा लगाएको प्रतिवन्धको सोझो र गहिरो असर नेपालमा पर्ने भन्दै धेरैले नेपालमा आवश्यक धान चामलको करिव २१ प्रतिशत भारतबाट आयात हुने गरेको बताउने गरेका छन् । 

सरकारले हरेक दिन कम्तीमा १० करोड मूल्यको धानचामल आयात गर्दै आएको छ । गत आर्थिक वर्ष २०७९–८० को जेठ मसान्त सम्ममा ३३ अर्ब ६३ करोड रुपियाँको धानचामल आयात भएको छ । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा ४७ अर्ब ५९ करोड रुपियाँको धानचामल आयात भएको थियो । आर्थिक वर्ष २०७८–७९ मा भने नेपालले तीन खर्ब ४१ अर्ब रुपियाँको कृषि वस्तु आयात गरेको थियो ।

Advertisement

Advertisement