बीमा कम्पनीहरुलाई जोखिम लिन सकस भएको भए आपतकालिन कोष खडा गरुन्ः तिवारी

Advertisement

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघका निवर्तमान अध्यक्ष नन्द तिवारीले कुनै पनि बीमा कम्पनीहरुलाई ठूलो जोखिम देखेर भाग्ने छुट नरहेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा कम्पनीहरु जोखिमबाट हात झिकेर भन्दा नयाँ आपतकालिन कोष खडा गर्नुपर्ने खाँचो देखिएको बताए । 

तिवारीले यस्तो कोष स्थापना गर्न नियमनकारी निकाय र सरकारको पनि सहयोग गर्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणले गत साता निर्णय गरेर बीमा कम्पनीभन्दा बाहेकका कुनै पनि संगठित संस्थाले बीमा व्यवसाय नगर्नु भन्ने निर्देशन दिइरहेको बेलामा उनले बीमा कम्पनीहरुले पनि जोखिम लिनबाट पर हट्न नहुने बताए । 

Advertisement

यस्तो छ तिवारीको भनाईः 
दैनिक जोखिमको क्षेत्र बढ्दै जानु स्वाभाविक हो । विज्ञानले जसरी नयाँ नयाँ आविष्कारहरुको विकास गर्दै गएको छ, त्यसरी नै विश्वमा नयाँ नयाँ किमिसका जोखिमहरु पनि आएको देखिन्छ । 

नेपाली बीमा कम्पनीहरुको स्थापना थोरै जोखिम भएको बेला भएको हुनसक्छ । अहिले जोखिम बढ्दै गएको छ । नयाँ नयाँ जोखिमहरु थपिएका छन् । यस्तो अवस्थामा बीमा कम्पनीहरुको हैसियत पनि त्यहीअनुसार बढाउनुपर्ने छ । तर अहिले कताकता बीमा कम्पनीहरु जोखिमसँग डराएको जस्तो महशुस हुन थालेको छ । 

म त भन्छु जोखिमसँग बीमाले डराउने होइन् । बीमा कम्पनीहरुले जोखिम बहन गरेर त्यसको सुरक्षण गर्ने नयाँ विधिहरु पत्ता लगाउनतर्फ लाग्नुपर्छ । किनभने जोखिमको जिम्मा लिने भनेको त बीमाले मात्रै हो । त्यसले गर्दा बीमाले जोखिम बहन गर्नुपूर्व नै यहाँ जोखिम छ, हामीले हात हाल्दैनौ भनेको पनि पाइन्छ । त्यस्तो गर्नु गलत हो । त्यस्तो अवस्था आउन नदिनु पनि प्राधिकरणको दायित्व हो । 

एउटै बीमा कम्पनीले कतिपय ठूलो जोखिम बहन गर्न नसक्ने कुरा सत्य भए पनि त्यसका लागि अन्तराष्ट्रिय अभ्यासहरु हेर्ने र विश्वासिलो ढंगले पुनर्बीमा गर्न जरुरी छ । अहिले बीमा कम्पनीहरुले जनताले आशा गरेको ठाउँमा पनि कतिपय अवस्थामा बीमाको दाबी भुक्तानी गर्न रोकेको अवस्था छ । भुक्तानीमा ढिलाई भएको कुरा त कुनै पनि बीमितको लागि स्वीकार्य छैन् । त्यस्तो गर्दा त हामी अभिकर्ताहरुलाई समेत जनतालाई बीमाको बारेमा बुझाउन पनि कठिनाई भएको छ । 

एकातिर केही बीमा कम्पनीले वर्षौंसम्म बीमितको भुक्तानी दिन आनाकानी गर्ने, अनि हामी अभिकर्ताहरुले बीमाले पैसा दिन्छ भन्दा कतिपय अवस्थामा जनतामा ठूलो भ्रम पनि सिर्जना भएको छ । काम गर्दै जाँदा कहिलेकाही समस्या आउन सक्छ । त्यो छुट्टै कुरा हो । यस्तो अवस्थामा नियमनकारी निकाय, बीमा कम्पनी, यस क्षेत्रका विज्ञ र बीमितहरुकै राय सुझाव लिएर समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ । यहाँ त त्यस्तो देखिँदैन् ।  

बीमा कम्पनीहरुले वास्तवमा व्यापारसँगसँगै सेवाभाव पनि बढाउँदै जानुपर्छ । सधैं जोखिम रहिरहन्छ भन्ने छैन् । जोखिम बढेको बेलामा बीमा कम्पनीहरुलाई नाफा कम होला भने जोखिम कम भएको बेलामा बीमा कम्पनीहरुले अत्याधिक मुनाफा समेत गरिरहेका छन् । त्यस्तो मुनाफालाई जोखिम बहन कोष खडा गरेर त्यस्तो कोषमा जम्मा गर्नुपर्ने देखिन्छ । ठूला जोखिम आईपर्दा यस्तो कोषबाट बीमितलाई दावी भुक्तानी दिनुपर्छ । 

अहिले त ठूलो जोखिम देख्दा बीमा कम्पनीहरु नै पर हुन खोजेको देखिन्छ । यसरी बीमा कम्पनीहरुले जोखिम लिन नचाहने हो भने त बीमाको अवधारणामा नै प्रश्न उठ्छ । बीमा व्यवसायमा नै धक्का लाग्नसक्छ । बीमा गर्ने भनेकै कसैले पनि क्षतिपूर्ति पाइन्छ भनेर हो । 

महामारी आयो, ठूलो बाढी आयो, ठूल्ठूला घटनाको पैसा तिर्दैनौ भन्ने छुट त कुनै पनि बीमा कम्पनीहरुलाई हुनुनपर्ने हो । हाम्रो कम्पनीले धान्न सक्दैन भन्ने हो भने त कसैले पनि बीमा गर्नुको औचित्य साबित हुँदैन । त्यसकारणले जसले बीमा गरेको छ, बीमा गरेकाको हकमा क्षतिपूर्ति दिनैपर्छ । बाँकीको हकमा कसरी अगाडि बढ्ने भन्ने सरकारको समेत सहयोग लिएर बीमा कम्पनी र नियामक निकायले एक ठाउँमा बसेर अवधारणा बनाउनुपर्छ । 

Advertisement