सरकारले श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गरेर १७ हजार ३०० पुर्यायो, दैनिक र घण्टाको कति ?

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको न्यूनतम् पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्याएको छ । श्रम ऐन २०७४ अनुसार गत साउन १ बाट लागु हुने गरी न्यूनतम् पारिश्रमिक बढाइएको हो । 

मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ । नयाँ व्यवस्थाअनुसार चिया बगान बाहेकका श्रमिकको मासिक न्यूनतम् पारिश्रमिक १७ हजार तीन सय रुपियाँ पुगेको छ । 

Advertisement

यसअघि श्रमिकको न्यूनतम् मासिक पारिश्रमिक १५ हजार रुपियाँ थियो । ट्रेड युनियनहरुले पारिश्रमिक बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । 

अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता छ हजार ४८० रुपियाँ गरी १७ हजार तीन सय पुर्याइएको हो । त्यस्तै, सरकारले श्रमिकको दैनिक न्यूनतम् पारिश्रमिक ६६८ रुपियाँ पुर्याएको छ । यसअघि यो रकम ५७७ रुपियाँ रहेको थियो । 

आंशिक समय मात्र काम गर्ने कामदारको न्यूनतम् पारिश्रमिक ९५ रुपियाँ प्रतिघण्टा पुगेको छ । यसअघि यो रकम ७७ रुपियाँ प्रतिघण्टा रहेको थियो । चिया बगानका श्रमिकको हकमा भने मासिक पारिश्रमिक १३ हजार ८९३ रुपियाँ पुगेको छ ।यसअघि यो रकम १२ हजार ८१ रुपियाँ रहेको थियो । उनीहरुको दैनिक पारिश्रमिक पाँच सय रुपियाँ पुगेको छ । यसअघि यो रकम ४३५ रुपियाँ थियो । प्रतिघण्टाका हिसावले उनीहरुले ६६ रुपियाँ पाउने छन् । यसअघि यो रकम ५७ रुपियाँ प्रतिघण्टा रहेको थियो । चिया बगानका सरदार र नाइकेको दैनिक भत्ता ६३ रुपियाँ पुगेको छ । यसअघि यो रकम ५५ रुपियाँ रहेको थियो । सरकारले हरेक दुई बर्षमा श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्नुपर्ने नियम छ । 

यस पारिश्रमिकका अतिरिक्त श्रमिकले सामाजिक सुरक्षा ऐनले तोकेका सुविधाहरु, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान अनिवार्य रुपमा पाउने व्यवस्था गरिएको छ । 

Advertisement

Advertisement