बैंक/वित्तीय संस्थाहरूमा निक्षेप १२.३ प्रतिशतले बढ्दा ३.८ प्रतिशतले मात्रै बढ्यो कर्जा लगानी

Advertisement

काठमाडौं । गएको आर्थिक वर्ष  २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ९.० प्रतिशतले बढेको थियो । 

राष्ट्र बैंकले आज प्रकाशित गरेको वार्षिक तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो ।

Advertisement

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको थियो ।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा यस्तो निक्षेपको अंश ३८.३ प्रतिशत रहेको थियो ।

त्यसैगरी समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।

निजी क्षेत्रतर्फ  प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरुको ०.६ प्रतिशतले बढेको छ ।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६८.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२.० प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.६ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १३.२ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापन
आर्थिक वर्ष २०७९/८० मा रिपोमार्फत रु.४१४ अर्ब ४७ करोड, सोझै खरिदमार्फत रु.८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु.२७२७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधामार्फत रु.२२८६ अर्ब ९० करोड गरी कुल रु.५५१८ अर्ब १९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ भने रिभर्स रिपोमार्फत रु.८८ अर्ब २० करोड र निक्षेप संकलन बोलकबोलमार्फत रु.२० अर्ब गरी कुल रु.१०८ अर्ब २० करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत पटकपटक गरी खुद रु.९६४२ अर्ब ४१ करोड तरलता प्रवाह भएको थियो ।

राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब ४५ करोड खूद खरिद गरी रु.७१२ अर्ब ५० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ९१ करोड खूद खरिद गरी रु.३५५ अर्ब ५७ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब ५६ करोड बिक्री गरी रु.५९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब ९२ करोड बिक्री गरी रु.५९५ अर्ब २३ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।

पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा
राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०८० असार मसान्तमा रु.१ अर्ब ५० करोड लगानीमा रहेको छ ।

नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तमा कुल १ लाख ४५ हजार ७७८ ऋणीलाई प्रवाह भएको रु.१९७ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ३५० ऋणीलाई प्रवाह भएको रु.१३५ अर्ब ७६ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ७१८ महिला उद्यमीलाई प्रवाह भएको रु.५८ अर्ब ३८ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७१० ऋणीको रु.२ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०८० असार मसान्तमा रु.७० करोड ९४ लाख बक्यौता भएको छ ।

अन्तर-बैंक कारोबार
आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरुबीच रु.३९४२ अर्ब १५ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) बीच रु.३५२ अर्ब ७ करोड गरी कुल रु.४२९४ अर्ब २२ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्ष वाणिज्य बैंकहरुबीच रु.२७८४ अर्ब १० करोड र अन्य वित्तीय संस्थाहरुबीच रु.३१६ अर्ब २५ करोड गरी कुल रु.३१०० अर्ब ३५ करोडको अन्तर बैंक कारोबार भएको राष्ट्र बैंकद्वारा प्रकाशित तथ्याङ्कमा उल्लेख छ । 

Advertisement

Advertisement