याक चुरोटको ट्रेडमार्क हात पार्न सूर्य नेपाल लबिङमा, औद्योगिक प्रर्वद्धन बोर्डको बैठक बस्दै

Advertisement

काठमाडौं । जनकपुर चुरोट कारखाना लिमिटेड (जचूकाली)को ट्रेडमार्क खरीद गर्न सूर्य नेपाल प्रा.लि. लबिङमा लागेको छ । आधाभन्दा बढी शेयर भारतीय एक कम्पनीको नियन्त्रणमा रहेको सूर्य नेपालले नेपालको इतिहास बोकेको जचूकालीको उत्पादनको ट्रडमार्क खरीद गर्न खोजेको हो । 

सूर्य नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग याक चुरोटको ट्रेकमार्ड आफूलाई दिन अनौपचारिक प्रस्ताव गरेको हो । सूर्य नेपालले जचूकालीको ट्रेडमार्क खरीद गरी उत्पादन बढाउने प्रस्ताव मन्त्रालयसमक्ष राखेको हो । 

Advertisement

मन्त्रालय स्रोतका अनुसार सूर्य नेपालले जचूकालीका ट्रेडमार्कहरुबारे चासो राखेपछि जचूकालीका ४८ वटै ट्रेडमार्क रक्षा गर्न उद्योग विभागलाई पत्र पठाएको छ । विभागले अहिले ४८ वटा ट्रेडमार्कको नवीकरण प्रक्रिया अघि बढाइसकेको छ ।

तत्कालिन राजा महेन्द्रले नेपालमा विदेशी चुरोटको आयात रोक्न सञ्चालनमा ल्याएको जनकपुर चुरोट कारखाना बहुदल आएपछि नेपाली कांग्रेसको सरकारले ‘राजाले खोलेको उद्योग’ भएको नाताले बन्द गरे पनि पुनः सञ्चालन गर्नुपर्ने माग जनस्तरबाट चर्कोरुपमा उठिरहेको बेला यससम्वन्धी अध्ययन गर्न तत्कालिन सचिव दीपक सुवेदी नेतृत्वको अध्ययन समितिले बदनियतपूर्ण तरिकाले कारखानाको जग्गा प्रदेशलाई दिन र ट्रेडमार्कहरु बिक्री गरी बक्यौता राफसाफ गर्न सुझाव दिने काम गरेको थियो ।  

उक्त समितिले २०७७ सालमा ट्रेडमार्क बिक्री गर्न भनेको हो । अहिले जचूकालीको मेशिन तथा उपकरणहरु काम नलाग्ने अवस्थामा पुगिसकेकोले ट्रेडमार्क बिक्री गरी प्रदेश सरकारलाई जग्गा दिन सुझाव दिएको थियो । तत्कालिन उद्योगमन्त्री लेखराज भट्टले आफूले चाहेको भन्दा उल्टो प्रतिवेदन आएपछि चुरोट कारखाना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्न प्रक्रिया अघि बढाएका थिए । 

सूर्य नेपालले भने दीपक सुवेदी नेतृत्वको समितिको प्रतिवेदनका आधारमा याक ब्राण्डको चुरोटलगायतका ब्राण्ड हात पार्ने प्रयासमा लागेको हो । हाल नेपालको चुरोट उत्पादन र बिक्रीमा सूर्य नेपालको एकलौटी बजार रहेको छ । गत बर्ष मात्रै उक्त कम्पनीले १० अर्बभन्दा बढी मुनाफा वितरण गरेकोमा छ अर्बभन्दा बढी इण्डियन कम्पनीले बाहिर लान सफल भएको छ । 

सूर्य नेपालले नेपालको चुरोटको कुल बजार हिस्साको ८५ प्रतिशत ओगट्ने गरेको बताइन्छ । जचूकालीको लोकप्रिय उत्पादनहरुको ट्रेडमार्क यदि अर्को कम्पनीले हात पारेमा आफ्नो व्यापारमा ठूलो धक्का लाग्ने देखेपछि सूर्य नेपाल आफूले नै हात पार्न लबिङ सुरु गरेको हो । 

उद्योग मन्त्रालयले औद्योगिक प्रर्वद्धन बोर्डको बैठक भदौ ८ गतेका लागि राखेको छ । यो बैठकमा आफ्नो एजेन्डा पार्नको लागि दौडधुप चलिरहेको स्रोतले बतायो । बोर्ड बैठकको बारेमा मन्त्री रमेश रिजाल, उद्योग सचिव मुकुन्द निरौला, उद्योग विभागका महानिर्देशक बाबुराम गौतमबीच गोप्य राख्ने सहमति गरेका छन् । 

Advertisement

Advertisement