'नेपालमा लोडसेडिङ अन्त्य भयो भनेर भ्रम छर्ने काम हुँदै आयो, अहिले पनि लोडसेडिङ छ'

इण्डियालाई बिजुली बिक्री गर्न खोज्नु समय खेर फाल्नु मात्रै हो:  ज्ञवाली

Advertisement

काठमाडौं । पूर्वउर्जामन्त्री दीपक ज्ञवालीले नेपालमा लोडसेडिङ अन्त्य भयो भनेर भ्रम छर्ने काम हुँदै आएको बताएका छन् । लोडसेडिङको समस्या अझै पनि कायम रहेको र विद्युत आपूर्तिमा समस्या बढ्दै गएको बताएका छन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसको हाइड्रो इन्जिनियरिङ कार्यक्रमले बिहीबार आयोजना गरेको विद्युत खपत र व्यापारः संभावना र चुनौति विषयक छलफल कार्यक्रममा ज्ञवालीले भने, ‘लोडसेडिङ अन्त्य भयो भनेर जनतालाई भ्रम छर्ने काम भएको थियो । तर त्यो अन्त्य भएकै थिएन् वास्तवमा । हामीलाई त्यो कुरा थाहा थियो । तर यति धेरै प्रचारमा गयो । भएको के थियो भने चार सय मेगावाट उद्योगको विद्युत काटेर दूरदराजको विद्युत काटेर काठमाडौं, पोखरा, विराटनगर जस्ता ठाउँमा चाहिँ दिएको छ । यहाँ त सबै पत्रकारबन्धु, टिभीबन्धु छन् । आहा ! बत्ति आयो भनेर दंग परे ।’ 

Advertisement

उनले उद्योग र दूरदराजको विद्युत कटौती गरी शहरी क्षेत्रमा दिएर लोडसेडिङ अन्त्य भएको प्रचार मात्रै गरिएन्, विद्युतको गुणस्तर कटौती गरेर दिने काम समेत नेपाल विद्युत प्राधिकरणको अहिलेको नेतृत्वले गरेको बताउँदै मोरङ उद्योग सघ जस्ता संस्थाहरुले यसको हिसाव गरेर राखेको बताए । ‘पटक पटक बत्ति जाने, लो–भोल्टेज हुने, अनि कसरी चल्छ उद्योग ? हेर्दा बत्ति दिएको छ । तर क्वालिटि छैन्’ ज्ञवालीले भने । 

फ्रिक्वेन्सी र भोल्टेज घटाएकाले कति फ्रिज र टिभी जलेका छन्, लिफ्ट चल्न सक्दैन भन्दै उनले त्यसको नोक्सान कस्ले हेर्ने ? भनेर प्रश्न गरे । ज्ञवालीले हिउँदमा भने ६५ प्रतिशत नरेन्द्र मोदीको कृपाले लोडसेडिङ कम हुने गरेको बताए । भारतबाट विजुली ल्याएर लोडसेडिङ कम गर्दा गर्व गर्नुपर्ने कुरा हो र ? भन्दै उनले प्रश्न गरे । 

पूर्वमन्त्री ज्ञवालीले नेपालले विद्युत व्यापारमा इण्डियाको एकाधिकार बजारको सामना गर्नुपरेको बताए । उनले अहिले नेपालको एक मात्रै ग्राहक इण्डिया रहेको र उसले चाहेको शर्त र हिसावमा मात्रै नेपालको विजुली किन्ने बताए । यद्यपि भारतमा विद्युतको माग प्रचुर रहेको ज्ञवालीले जानकारी दिए । उनले भने, ‘यति धेरै विद्युत माग छ त्यहाँ, तर बजार छैन् । माग र बजार एउटै कुरा होइन् । बजार हुनलाई फ्रि इन्ट्री र एक्सेस चाहिन्छ । मार्केटको निश्चित सिद्धान्तहरु छन् ।’ 

इण्डियाले जलविद्युतलाई रणनीतिक स्रोतको रुपमा मात्रै हेरेको बताउँदै ज्ञवालीले तर उसले भाषा गोलमटोल गरेर आफूले बनाएका आयोजनाको मात्रै बिजुली किन्ने, अरुको नकिन्ने, तर किन्दिन खोजेको जस्तो देखाउने, किन्दा पनि सबैभन्दा सस्तोमा किन्ने रणनीति बनाएको बताए । ‘अलिकिति विदेशीको गन्ध आउने बित्तिकै त्यो आयोजनाको बिजुली लिन्न भन्ने ! अनि के यो पनि मार्केट हो ? अनि यस्तोको पछि लागेर हामीले किन समय बर्दाद गरिरहेका छौं ?’ उनले भने, ‘हाम्रो बिजुली नभएर इण्डिया मर्दैन् । इण्डियाको चार लाख मेगावाट जडित क्षमता छ । चाइनाको २० लाख छ । सौर्य उर्जा आदि समेत जोड्दा इण्डियाको आठ लाख पुग्दैछ । हाम्रो ४० हजार मेगावाट उत्पादन लगे पनि उसलाई हात्तिको मुखमा जिरा जस्तै हो ।’  

नेता ज्ञवालीले नेपालको प्रतिव्यक्ति उर्जा खपत ३८० रहेकोमा इण्डियाको एक हजार २८० रहेको बताउँदै भारतको स्तरमा नपुगेसम्म नेपालले विद्युत निर्यातको कुरा गर्नु व्यर्थ रहेको बताए । उनले भने, ‘नेपाललाई सिंगापुर बनाउने भन्ने भाषण त निकै सुन्नुभयो होला तपाइँहरुले । जबकी सिंगापुरको सात हजार छ प्रतिव्यक्ति खपत । जबसम्म उर्जाको आन्तरिक खपत बढ्र्दैन्, तबसम्म नेपाल सिंगापुर बन्न सक्दैन् । नेपालमा खपत गर्ने ठाउँ थुप्रो छ । विद्युत सरप्लस भयो भनेर चिन्ता लिनुपर्ने ठाउँ नै छैन् । गलत नीतिले गर्दा खपत बढ्न नसकेको हो ।’  

जलविद्युतको विकास नहुनुमा अर्थ–राजनीतिक कारण रहेको बताउँदै उनले उर्जा विकासमा हितेन्द्रदेव शाक्यहरु जस्ता विज्ञहरुले उठाएको कुराहरुलाई उपेक्षा गर्दा अहिले दुर्दसामा नेपाल रहेको बताए । नेपालको हाइड्रो इन्जिनियरिङमा त्यस्तो ठूलो समस्या नरहेको ज्ञवालीको भनाई छ । 

जलविद्युत क्षेत्रमा डा. हरिमान श्रेष्ठको थेसिस (सोधपत्र)को निकै दुरुपयोग भएको उनले बताए । श्रेष्ठले जलविद्युतमा ब्राजिलपछि नेपाल विश्वको दोस्रो धनी भनेर जलविद्युत क्षेत्रलाई भनेकै होइन् भन्दै ज्ञवालीले जलविद्युतमा ब्राजिल विश्वको सबैभन्दा धनी र नेपाल दोस्रो धनी भनेर गलत ढंगले प्रचार गर्ने र पढाउने काम भएको बताए । डा. हरिमानको थेसिसको गलत व्याख्या गर्दा गएको ५० बर्षमा नेपालको नीति निर्माण गलत दिशामा गएको उनले बताए । 

पूर्वमन्त्री ज्ञवालीले कति ‘मेगावाट’ ? भनेर भन्ने भन्दा पनि प्रयोग गर्न सकिने उर्जा कति छ ? त्यहाँबाट कुरा गर्नुपर्छ भने । 

Advertisement

Advertisement