क्यानडा पुगेर अर्थमन्त्रीले भने– एक अर्ब जनसंख्याका लागि पानीको स्रोत नेपाल हो

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको दावी गरेका छन् । 

क्यानडाको भ्यानकुभरमा आयोजित विश्व वातावरण कोषको ७औं एसेम्बली बैठकमा उनले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको लागि पानीको स्रोत नेपाल रहेको दावी पनि गरे । 

Advertisement

महतले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा ईमान्दार प्रयास गरिरहेको बताउदै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको बताएको उनको सचिवाले उपलब्ध गराएको समाचारमा उल्लेख छ । 

उनले यस्ता वन तथा वन्यजन्य सम्पदा नेपालको लागि मात्र नभै विश्व मानव समुदायकै साझा सम्पदाको रुपमा रहेको उल्लेख गरेका छन् । यी प्रयासका बाबजुत नेपाल जलवायू परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिबृष्ठि सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको महतले बताए । 

उनले नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको भन्दै जलवायू वित्तबाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए । महतले जबसम्म एकीकृत र समुच्च रुपमा कार्यक्रम कार्यान्वयन गरिँदैन्, तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी हुँदैन् भन्दै लगानीका आयोजनाहरुको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमामा सकारात्मक परिवर्तन ल्याउनेगरी कार्यान्वयन गर्नु पर्ने बताए । 

मन्त्री महतले मानव विकासको क्षेत्रमा महत्वपूर्ण लगानी नगर्दासम्म वातावरणीय दिगोपना हाँसिल हुन समेत नसक्ने बताए । उनले वातावरणीय कोषका कार्यक्रमहरू राष्ट्रिय प्रणालीमार्फत कार्यान्वयन गर्नु पर्नेमा जोड दिँदै आयोजनामा ठोस तथा पहिचानयुक्त क्रियाकलाप समावेश गर्न र आयोजनाका मुख्य क्रियाकलापमा लगानी केन्द्रित गर्न जोड दिए । 

Advertisement

Advertisement