दीपक र दीपाश्रीको नयाँ सिनेमाहल सञ्चालन, योभन्दा कमजोर अर्थतन्त्र हुनै सक्दैन्ः ढकाल

Advertisement

काठमाडौं । अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् । 

नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत नयाँ सिनेमा हल सञ्चालनमा ल्याइएको हो । गिरी, निरौला र शर्माले यसमा १० करोड रुपियाँ लगानी गरेको दावी गरेका छन् । 

Advertisement

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र यो भन्दा कमजोर बन्ने ठाउँ नरहेको बताए । सिनेमा हलको उद्घाटनपछि उनले अर्थतन्त्र निकै कमजोर हुन पुगेका बताए । 

यद्यपि ढकालले अबका दिनमा अर्थतन्त्र चलायमान हुने आशा व्यक्त गरे । उनले अर्थतन्त्र यो भन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने आशा व्यक्त गरे । 

ढकालले व्यवसायिक एक्टिभिटिज बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने बताए । कोरोना महामारीपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यवसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आम मानिसमा सकारात्मक उर्जा थपिने बताए । 

अध्यक्ष ढकालले भने, ‘अहिले कोरोपछिको जुन एक्टिभिटी कम भइरहेको अवस्थामा सिनेमा हल सञ्चालन गरेर इकोनोमिक एक्टिभिटी बढ्ने जुन म्यासेज दिनुभएको छ, त्यसको लागि पनि धन्यवाद छ । अहिले कता कता मान्छेहरुलाई पब्लिक कन्फिडेन्स नभइरहेको बेलामा अब आउने दिनमा उत्साहजनक हिसावले बढ्छ भन्ने सन्देश गएको छ । व्यवसायिक एक्टिभिटिज जति बढ्छन्, त्यति नै अर्थतन्त्र चलायमान हुँदै जान्छ । अब आउने दिन राम्रो हुनेछ । यो भन्दा डिट्रोइ हुने अवस्था छैन् ।’

वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचत्रि बनाउनु पनि तपस्या गरेसरह रहेको बताए । उनले आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेकोसरह भएको बताए । 

आचार्यले पहिला नामका लागि काम गरेपनि पछि नामसँगै पैसा कमाउन थालिएको तर समयलाई चिन्नुपर्ने आवश्यकता औंल्याए । आफूहरुले गर्न नसकेको काम सिनेमा हल सञ्चालन गरेर दीपक र दीपाश्रीले कलाकारको सपना पूरा गरेको बताए । 

उनले भने, ‘साँच्चै नै नेपाली चलचित्र क्षेत्र र नेपाली कलाकारिता क्षेत्र असाध्यै सानो पाइलाबाट अघि बढेको हो । चलचित्र क्षेत्र तपस्वीले तपस्या गरेको जस्तै हो । जसरी प्रसुतिको बेला बच्चा जन्माउन एउटा आमालाई पीडा हुन्छ, त्यसरी नै र त्यत्ति नै गाह्रो एउटा कथाकारलाई कथा निकाल्न हुन्छ । आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेको जस्तै हो ।’

अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपाली चलचित्र उद्योगले सरकारबाट आवश्यक सुविधा नपाएको गुनासो गरे । उनले निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर हुनुपर्ने बताए । गिरीले आफ्नो सिनेमा हलबाट हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउने घोषणा गरे । 

गिरीले  हल ४ सय सिट क्षमताको रहेको र दुइटा अडिटोरियम हल रहेको बताए । 

Advertisement

Advertisement