नेपाल पर्यटन बोर्डको बजेट पर्यटनमन्त्रीले पास हुन नदिएकोमा आपत्ति

पर्यटन दशक घोषणा गरियो, तर आठ महिना बितिसक्दा पनि तयारी गरिएको छैन्ः शाह

Advertisement

काठमाडौं । होटल एशोसियशन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले पर्यटन दशक मनाउने घोषणा गरेको सरकारले कुनै तयारी नगरेकोमा आश्चर्य प्रकट गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘पर्यटन दशक मनाउने भनेर सरकारले घोषण त गर्यो तर आजको दिनसम्म कार्यक्रम पनि छैन् । सचिवालय पनि छैन् ।कसरी दशक मनाइन्छ यस्तो तरिकाले ?’

Advertisement

सरकारले सन् २०२३–३२ लाई पर्यटक दशक भनेर घोषणा गरेको छ । सन् २०२३ सुरु भएको आठ महिना बितिसक्दा पनि यसका लागि कुनै तयारी सरकारी पक्षले नगरेका कारण शाह निराश भएका हुन् । उनले भने, ‘आठ महिना बितिसक्यो । अहिलेसम्म कुनै तयारी छैन् । दर्शकमा के गछौं ? त्यसको लागि बजेट चाहिएला । सचिवालय चाहिएला । त्यहाँ कर्मचारी चाहिएला ।’ 

आफूहरुले सरकारसँगका हरेक बैठकहरुमा पर्यटन दशकबारे कुरा उठाउँदै आए पनि सुनुवाई नभएको शाहले बताए । राजश्व संकलनमा भारी गिरावट आएसँगै सरकारले पर्यटन दशक कार्यान्वयनमा उदासिनता देखाएको छ । 

अध्यक्ष शाहले नेपालमा आउन पर्यटकहरुको चासो बढ्दै गएको बताएका छन् । आउँदो पर्यटकीय सिजनका लागि होटल बुकिङ र इन्क्वायरी राम्रो रहेको उनले बताए । शाहले नेपालमा अहिले आइरहेकाभन्दा बढी पर्यटक ल्याउन सकिने बताउँदै तर त्यसका लागि हाम्रो पूर्वाधार, होटललगायत सबै कुराहरुले साथ दिइरहेको बताए । 

यद्यपि विशेषगरी हवाई कनेक्टिभिटिको कमीले गर्दा धेरै पर्यटकहरु नेपालमा ल्याउन नसकिएको उनले बताए । शाहले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टले अहिलेकोभन्दा बढी चाप धान्न नसक्ने बताए । उनले सडकमार्गबाट पनि पर्यटक ल्याउने वातावरण मिलाउनुपर्छ भन्दै सडकहरु स्तरीय र सुरक्षित ढंगले निर्माण गर्न सकिए पर्यटकहरुलाई सहजीकरण हुने बताए ।

शाहले भने, ‘ठाउँ ठाउँमा बाटो निर्माण गरिरहेको छ । तर राम्रो अवस्था छैन् । काठमाडौंबाट पोखरा जान, काठमाडौंबाट चितवन जान बाटो राम्रो छैन् । त्यसमाथि कतिबेला पहिरो गएर यातायात अवरुद्ध हुने हो ? टुंगो हुँदैन् । चितवनबाट भैरवहा जाने बाटो पनि पूरै खनेको छ । खनेर समयमा निर्माण भए त हुन्थ्यो । हुँदैन् । बर्षौं लाग्छ सक्छ ।’ 

भैरवहा र पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखद भएको उनले बताए । शाहले ठूलो लगानीमा निर्माण भएका यी विमानस्थल चल्न नसक्दा पनि कनेक्टिभिटिमा समस्या भइरहेको सुनाउँदै उनले यसले गर्दा ती ठाउँमा होटल तथा अन्य पर्यटन व्यवसायमा लगानी गर्नेहरुको अर्बौं रुपियाँ जोखिममा परेको पनि बताए । 

सरकारले यो वर्ष (२०२३)मा १० लाख पर्यटक नेपाल भित्राउने घोषणा गरेको सुनाउँदै उनले अहिले छ लाखको हाराहारीमा पर्यटकहरु नेपाल आइसकेको बताए । अबको बाँकी चार महिनामा चार लाख पर्यटक आउनसक्ने बताउँदै शाहले तर पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको लगानी र दुःखअनुसार यो संख्या निकै न्यून भएको बताए । 

शाहले भने, ‘अहिले हाम्रो जोड के छ ? भने भैरहवा र पोखरा विमानस्थलमा चाहिँ भारत र चीनलाई उडान गराउन जोड दिनुपर्यो । त्यसो गर्न सके पर्यटकहरुको आगमन अहिलेकोभन्दा दोब्बर हुने थियो । हामी पर्यटन व्यवसायीहरुको होटलमा धेरै लगानी भइसकेको छ । होटल अर्बौं लगानी गरेर निर्माण गरेका छौं । तर, गरेको लगानी फिर्ता आइरहेको छैन् ।’ 

शाहले नेपाल पर्यटन बोर्डको बजेट पास गर्न अवरोध गरिएकोमा पनि असन्तुष्टि जनाए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विभिन्न शर्त राख्दै बोर्डको बजेट पास गर्न दिएका छैनन् । साउन–भदौ गइसक्दा समेत बजेट पास गर्न नदिनुको उद्देश्य के हो ? भन्दै शाहले यस्तो प्रवृत्तिले गर्दा पनि नेपालको पर्यटन क्षेत्र पछाडी परेको बताए । 

अहिले आफूहरुले विदेशी पर्यटकलाई मात्र नभएर आन्तरिक पर्यटकहरुलाई पनि साथ दिनुपर्ने बेला छ भन्दै उनले आन्तरिक पर्यटकहरुको धेरै संभावना नेपालमा रहेको बताए । शाहले सरकारको लगानीमा ३० वटा सम्मेलन केन्द्रहरु बनाउने लक्ष्य राखिएकोमा १२ वटा तयार भइसकेको तर ती सभाहलहरु सञ्चालनमा आउन नसकेको बताए । 

Advertisement

Advertisement