ठूलो कम्पनीमा आर्थिक मन्दीको ठूलो असर कम, कर अशुलीमा नौ प्रतिशत

Advertisement

काठमाडौं । एक अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीमा आर्थिक मन्दीको प्रभाव कम देखिएको छ । गत वर्षको तुलनामा यो वर्ष ठूला कम्पनीहरुबाट राजश्व संकलनमा केही वृद्धि देखिएको छ ।

ठूला करदाता कार्यालयले यही गएको भदौमा गत वर्षभन्दा नौ प्रतिशत बढी राजश्व उठाएको छ । ठूला करदाता कार्यालयले एक अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीहरुको कर असुली गर्दै आएको छ । 

Advertisement

कार्यालयका अनुसार गएको साउनमा पनि गत वर्षभन्दा बढी राजश्व असुल भएको थियो । गत भदौमा कार्यालयले ठूला कम्पनीबाट आठ अर्ब ५९ करोड राजश्व असुल गरेकोमा गत आर्थिक वर्ष २०७९–८० को भदौमा सात अर्ब ८७ करोड राजश्व संकलन भएको थियो । गत बर्ष भदौमा भन्दा यो वर्ष ७२ करोड बढी राजश्व संकलन भएको हो । 

यस्तै, चालु आर्थिक वर्षको साउनमा कार्यालयले ठूला कम्पनीबाट १५ अर्ब ७५ करोड राजश्व संकलन भएको छ । गत बर्ष सोही महिनामा १५ अर्ब ३७ करोड राजश्व संकलन भएको थियो ।  

ठूला कम्पनीहरुको व्यापारमा ठूलो प्रभाव नदेखिएको कार्यालय प्रमुख जनकराज शर्माले बताए । उनले भने, ‘ठूला कम्पनीहरुको व्यापारमा धेरै प्रभाव परेको छैन् । उत्पादनशील कम्पनीमा भने नकारात्मक ग्रोथ देखिएको छ । थप अध्ययन गर्दै छौं ।’

विशेषगरी, उत्पादनशील उद्योगमध्ये सिमेन्टतर्फ नकारात्मक वृद्धिदर देखिएको छ । यो क्षेत्रका उद्योगहरुको कारोबार अघिल्लो आर्थिक वर्षमा भन्दा कम देखिएको छ । यस्तै, डन्डी उद्योगको कारोबार पनि कम नै देखिएको छ । बैंकिङ क्षेत्रमा पनि सन्तोषजनक व्यापार देखिएको छ ।

अर्थ मन्त्रालयले राजश्व प्रणालीमा देखिएका समस्याको समाधान गर्न पूर्वमन्त्री तथा अर्थसचिव विद्याधर मल्लिकको संयोजकत्वमा कर प्रणाली सुधार उच्चस्तरीय समिति बनेको छ ।

पछिल्लो दुई आर्थिक वर्षमा राजश्व संकलनमा नकारात्मक नतिजा देखिन थालेपछि अर्थ मन्त्रालय दबाबमा आएको छ । खर्च बढाएर राजश्वको स्रोत खुम्चिएपछि मन्त्रालय दबाबमा आएको हो ।

आर्थिक गतिविधिलाई चलायमान बनाउन मन्त्रालयले विभिन्न विकल्पमा छलफल गरिरहेको राजश्व महाशाखा प्रमुख रितेश शाक्यले बताए । मन्त्रालयले खर्च बढाएर आर्थिक गतिविधि बढाउने विषयमा छलफल सुरु गरेको हो ।

Advertisement