सिविफिनले गभर्नरलाई भेटेर उठायो संस्थापक शेयरधनीलाई ‘भीआरएस’ दिनुपर्ने कुरा

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बैंकका संस्थापक शेयरधनीहरुलाई स्वयच्छिक बहिर्गमनका लागि राष्ट्र बैंकले ‘भीआरएस’ ल्याउनुपर्ने कुरा उठाएको छ । 

सोमबार गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न पुगेको सिविफिनको टोलीले संस्थापक शेयरधनीहरुलाई छोड्न विशेष सुविधासहितको भीआरएसको व्यवस्था गर्नुपर्ने विषय कुराकानी पनि भएको सिविफिनका अध्यक्ष पवन गोल्याणले बताए । राष्ट्र बैंकका तर्फबाट भने भीआरएसभन्दा पनि सीआरएस (अनिवार्य बर्हिगमन)को व्यवस्था उपयुक्त हुने तर्क गरेको बताउँदै उनले यद्यपि संस्थापक शेयरको सम्वन्धमा केही विकल्प खोज्नुपर्छ भन्नेमा राष्ट्र बैक सकारात्मक रहेको बताए । 

Advertisement

भेटमा सिविफिनले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेको भन्दै अधिकारीको ध्यानाकर्षण गराएको थियो । अध्यक्ष गोल्याणले राष्ट्र बैंकमार्फत हालै जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनीय सुधार भएको भएता पनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीति जस्ता क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेको बताएका थिए । 

उनले वर्तमान विषमपूर्ण अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापहरुले गतिशीलता प्राप्त गर्ने भन्दै बाफियाको व्यवस्थाबमोजिम संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो संचालन खर्च र साँघुरिँदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र पेश गरेका थिए । 

गोल्यानले सिबिफिनको पहलमा देशका विभिन्न क्षेत्रमा बिजनेश समिट आयोजना हुन लागेको र उक्त समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गरेका थिए । त्यस अवसरमा राष्ट्र बैंकका डेप्यूटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा र सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, सचिव कुशप्रसाद मल्ली, कार्यकारी सदस्यहरु उपेन्द्र पौडेल, लीलाप्रकाश सिटौला मोतीलाल दुगड, दिनेशराज जोशीलगायत थिए । 
 

Advertisement