राजश्वका तीन हाकिमको बैठकः आर्थिक मन्दीले होइन्, चोरी पैठारीले राजश्व संकलन घट्यो

Advertisement

काठमाडौं । सरकारले अपेक्षा गरेअनुसार राजश्व संकलन नभएपछि कर प्रशासनका हाकिमहरु छलफलमा जुटेका छन् । कर अशुल गर्ने आन्तरिक राजश्व विभाग, भन्सार विभाग र राजश्व अनुसन्धान विभागमा महानिर्देशकहरु छलफलमा जुटेका हुन् ।

मंगलबार भन्सार विभागमा तीनै निकायका महानिर्देशकहरुबीच छलफल भएको हो । छलफलमा राजश्व बढाउने र चुहावट कम गर्ने उपायको बारेमा छलफल भएको जनाइएको छ । आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा सुस्तता आउँदा त्यसको असर राजश्व संकलनमा समेत देखिएको छ । 
 
चाडपर्व लक्षित गरेर चोरी तथा तस्करी बढ्नसक्ने भन्दै यस्ता गतिविधि रोक्न तिनै निकायबीच समन्वय गर्ने सहमति भएको छ । तीनै निकायले चोरी पैठारीलाई राजश्व कम उठ्नुको पहिलो कारकको रुपमा औंल्याएका छन् । भन्सार विभागले केही सामग्रीहरुको तथ्यांक निकालेर बजारको उपलब्धता बारेमा अध्ययन गरिरहेको छ । गत वर्षभन्दा कम आयात हुँदा पनि बजारमा उपलब्धता भने बढिरहेको देखिएको विभागको ठहर छ ।  

Advertisement

तीन निकायबीच सूचना आदान प्रदानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बैठकमा सहभागी भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । उनले भने, ‘पछिल्लो समय घट्दो राजश्व संकलनलाई लिएर छलफल गरेका हौं । चोरी पैठारीबाटै राजश्व कम संकलन भएको निष्कर्ष निकालेका छौं । प्रहरी तथा सशस्त्र प्रहरीसँग मिलेर कडा निगरानी बढाउने तयारी भएको छ ।’

आयात घट्दा राजश्व संकलन प्रभावित बनेको महानिर्देशक पौडेलको भनाई छ। उनले थपे, ‘मैले सकेसम्म राम्रा रेकर्ड भएका कर्मचारीलाई महत्वपूर्ण कामको जिम्मा लगाइरहेको छु । राजश्व छली हुनसक्ने क्षेत्रमा कडाईकासाथ अनुगमन गर्न र चनाखो हुन कार्यालय प्रमुखहरुलाई निर्देशन दिइरहेको छु ।ु राजश्व चुहावटको सुराकी दिने व्यक्तिलाई पनि प्रोत्साहन गर्ने नीति लिएको छु ।’ सरकारले राजश्व बढाउनकै लागि आयातमा गरेको कडाई खुकुलो गर्दा उल्टै आयात कम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकटबाट देखिएको छ ।   

भन्सारबाट आयात घट्दा पनि महसुल बढिरहेको दाबी गर्दै महानिर्देशक पौडेलले राजश्व छली रोक्नका लागि सूचना प्रणाली चुस्त बनाउन प्रहरीसँग मिलेर काम गर्ने योजना सुनाए । बैठकमा राजश्व अनुसन्धान विभाग महानिर्देशक नवराज ढुङ्गाना, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली सहभागी थिए। 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार मंगलबार (असोज ९ गतेसम्म) एक खर्ब ७२ अर्ब राजश्व संकलन भएको छ । गत आर्थिक वर्षसँगको तुलना यो रकम आठ अर्बले कम हो । सरकारले राजश्व बढाउन दायरा विस्तार गर्नुका साथै अशुलीमा कडाई समेत गरेको छ । 

Advertisement

Advertisement