पचास लाख रुपियाँ लगानीमा बौद्धमा जापानी रेस्टुरेन्ट ‘होक्काइडो बेन्टो हाउस’ सञ्चालनमा

Advertisement

काठमाडौं । मानिसहरु प्रायः नयाँ र फरक खानपिनको पारखी नै हुन्छन् । पछिल्लो समय नेपालमा पनि आफ्नो मौखिक खानाबाहेक विदेशी खानाका परिकारहरु भित्रिने क्रम बढ्दो छ । पर्यटकहरुलाई आकर्षित गर्न मात्रै नभएर देशविदेश घुम्ने बढ्दो संस्कृति, सामाजिक सञ्जालको बढ्दो प्रयोग जस्ता कुराहरुले पनि खानपिनमा नयाँपन मौलाउँदै गएको छ । 

यस्तै, राजधानीको बौद्धमा पनि फरक विशेषताको नयाँ जापानी रेष्टुरेन्ट सञ्चालनमा आएको छ । ‘होक्काइडो बेन्टो हाउस’नामक यो रेष्टुरेन्टमा विभिन्न स्वादका जापानी खाना खान सकिन्छ । चिनियाँ, कोरियन, कन्टिनेन्टल, इण्डियन आदि होटलहरु मात्रै नभएर जापानी रेष्टुरेन्टहरु समेत खुल्न थालेका हुन् । 

Advertisement

यस्ता विदेशी स्वादहरु ठूला चारे होटलमा मात्रै नभएर अब रेष्टुरेन्टहरुमा समेत नेपालीहरु समेत चाल्न सहज बन्दै गएको सन्दर्भमा होक्काइडो बेन्टो हाउस सञ्चालनमा आएको हो । यो रेष्टुरेन्ट राम तामाङले सञ्चालनमा ल्याएका हुन् । 

आथित्यता क्षेत्रमा लामो समयको अनुभव संगालेका उनले ५० लाख रुपियाँ लगानीबाट यो रेष्टुरेन्ट सञ्चालन गरेको बताए । होक्काइडो बेन्टो हाउसमा विभिन्न जापानी परिकारहरुको स्वाद लिन सकिन्छ । होटल, रेस्टुरेन्ट, क्याफेमा काम गरिसकेका तामाङले दुवइको पाँच तारे होटलमा समेत काम गरेका छन् । रेष्टुरेन्ट सञ्चालनमा आएको एक महिना हुन लागेको छ । 

तामाङले भने, ‘यो रेस्टुरेन्ट सञ्चालनमा ल्याउनुअघि म बुढानीलकण्ठस्थित ‘होक्काइडो रामेन हाउस’मा पनि लामै समय काम गरें । यो क्षेत्रमा काम गर्न थालेको निकै बर्ष भयो । त्यही अनुभवका आधारमा विश्व सम्पदा क्षेत्र बौद्धनाथ स्तुपा नजिकै मैले रेस्टुरेन्ट सुरु गरेको हो । ।’ 

बौद्धको रेष्टुरेन्ट बुढानीलकण्ठको अर्को शाखा भएको उनले जानकारी दिए । दुवईबाट फर्किएपछि होक्काइडो रामेन हाउसका अध्यक्ष अर्जुन अधिकारीसँग आफ्नो भेट भएको र त्यो रेष्टुरेन्टको सम्पूर्ण व्यवस्थापन आफूले हेरेको बताउँदै उनले भने, अध्यक्ष अर्जुन अधिकारी २००१ देखि नै जापानमा बस्दै आएको व्यक्ति हो । उहाँले जापानको होक्काइडो भन्ने ठाउँमा रेस्टुरेन्ट सुरु गरेर २०–२२ वटा पुर्याउनुभयो । त्यहाँ सफल भएर नेपालमा पनि केही गर्नुपर्छ । नेपालमा पनि जापानी खानाको विस्तार गर्नुपर्छ भनेर बुढानीलकण्ठमा रेष्टुरेन्ट खोल्नुभयो । संयोगले म पनि आवद्ध भएर काम गर्ने र अनुभव हासिल गर्ने मौका पाएँ । 

चार बर्षअघि सञ्चालनमा आएको होक्काइडो रामेन हाउसले नेपालमा पनि आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा बौद्धमा होक्काइडो बेन्टो हाउस आफूले सुरु गरेको तामाङले बताए । उनले बेन्टोको अर्थ जापानी लन्ज बक्स भएको उनले बताए । हयात रिजेन्सी काठमाडौंबाट आथित्यता क्षेत्रमा आफ्नो करियर सुरु गरेका तामाङले थपे, ‘मसँग थाइ खानाको पनि राम्रो अनुभव छ । दुवईमा हुँदा जापानी अन्तर्राष्टिय चेन रेस्टुरेन्टमा पनि काम गर्ने मौका पाएँ । लाइभकुकिङ, सुसीको पनि ज्ञान भयो मलाई । नेपाल आइसकेपछि अरु धेरै खानेकुराबारे सिक्ने मौका पाएँ, रामेन, बेन्टो लगायत जापानी परिकारहरुको बारेमा ।’ 

होक्काइडो बेन्टो हाउस नेपाली बजारमा पनि स्वस्थ जापानी खाना खुवाउने लक्ष्यका सुरु गरेको तामाङको भनाई छ । उनले जापानी खाना खाएर मानिसहरु धेरै बर्ष बाँचेको तथ्यहरु छ भन्दै उनले भने, ‘सधैं दालभात नै खानुपर्छ भन्ने पनि छैन् । कहिलेकाहीँ फरक स्वाद पनि लिनुपर्छ नि ।’

तामाङले अहिले उनको रेष्टुरेन्टमा काम गर्ने नौ जना कर्मचारी रहेको बताए । बौद्ध क्षेत्रमा जापानी रेस्टुरेन्ट नभेटेकोले सो क्षेत्र आफूले छानेको उनले बताए । बौद्ध क्षेत्र घुम्न आउने विदेशी पर्यटक र स्थानीयलाई लक्षित गरेर यो रेष्टुरेन्ट सञ्चालन गरेको बताउँदै तामाङले ग्राहकहरुबाट राम्रो प्रतिक्रिया आइरहेको बताए । यसबाट आफूहरुलाई हौसला मिलेको उनको भनाई छ । 

तामाङले भने, ‘हाम्रो रेस्टुरेन्टमा तालिम प्राप्त सेफ छ । हाम्रो मुख्य सेफ जापानमै करिब चार वर्ष काम गरेको अनुभवी मान्छे हो ।’ 

Advertisement