सुधारिंदै अर्थतन्त्रः बढ्यो विदेशी मुद्रा सञ्चिति, एक वर्ष बढीको आयात धान्न पुग्ने

Advertisement

काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढ्दै गएको छ । गत असार मसान्त भन्दा चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३.९ प्रतिशतले वृद्धि भएको हो ।  

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार १२.६ महिनाको वस्तु आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित रहेको छ ।  

Advertisement

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि भई २०८० भदौ मसान्तमा रु.१५९८ अर्ब ९० करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० भदौ मसान्तमा ४.५ प्रतिशतले वृद्धि भई रु.१४०६ अर्ब ५२ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० भदौ मसान्तमा ०.६ प्रतिशतले कमी आई रु.१९२ अर्ब ३८ करोड कायम भएको छ । २०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेकोछ ।

सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.७ प्रतिशत, ८६.० प्रतिशत र २६.२ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

undefined

चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता रु.२३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई रु.८५ करोड ८ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्बले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्व ४६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.८० करोड ९७ लाखलेऋणात्मक रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५३ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२० अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

Advertisement