नेपालका तीन अन्तराष्ट्रिय विमानस्थल कुनको अवस्था कस्तो ?

Advertisement

काठमाडौं । नेपालमा हाल तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु संचालनमा छन् । यीबाहेक ३१ वटा आन्तरिक विमानस्थलहरु सञ्चालनमा रहेको छ भने १८ वटा आन्तरिक विमानस्थलहरु सञ्चालनमा छैन् । त्यस्तै निर्माणाधीन विमानस्थलहरू चार वटा रहेका छन् । 

ठूलो लगानीमा बनेका नयाँ दुईसहित तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरुको अवस्ता कस्तो रहेको छ ?

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनमा औसतमा ११० वटा उडान र अवतरण हुने गर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३० वटाभन्दा बढी वायुसेवाले उडान गरिरहेका छन् । यो विमानस्थलको उद्घाटन सन् १९५५ मा राजा महेन्द्रले गरेका थिए । 

गएको महिना असोज २९ गतेका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिनमा ११४ अन्तर्राष्ट्रिय उडान अवतरण भएको थियो । त्रिभुवन विमानस्थलमा यति धेरै उडान र अवतरण भएको यो हालसम्मकै धेरै हो । हवाई र यात्रु चाप बढेसँगै यसको विस्तारको काम पनि अहिले भइरहेको छ । तर ठूलोस्तरमा विस्तार गर्न भने त्रिभुवन विमानस्थललाई स्थानको अभाव भएको छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल नेपाल वायुसेवा निगमको जहाजले मात्र अन्तर्राष्ट्रिय गरिरहेको छ । जजिरा एयरवेजले पटक पटक यो विमानस्थलमा उडान सञ्चालन गर्ने र स्थगित गर्ने काम गर्दै आएको छ । 

यात्रु नहुने भएकाले व्यवसाय नहुने देखेर धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवा विमानस्थलबाट उडान गर्न रुची देखाएका छैनन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते सञ्चालनमा आएको हो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको आर्थिक र प्राविधिक सहायतामा बनेको हो । यो विमानस्थलमा चीनको छेन्दुबाट विमान अवतरण गरेसँगै पहिलो अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो । 

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरामा अवतरण गरेको थियो । तर हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै अन्तर्राष्ट्रिय उडान भएको छैन् । सन् २०२३ जनवरी  १ देखि सञ्चालनमा आएको यो विमानस्थल पनि भैरहवा विमानस्थल जस्तै व्यवसायिक संभावना नभएकाले विदेशी वायुसेवा कम्पनीको रुचीमा परेको छैन् । 

Advertisement