बीमा संस्थान कम्पनीमा जाने प्रक्रिया सुरु भएपछि प्रशासक पाठकलाई पद जान्छ कि ? भन्ने चिन्ता

Advertisement

काठमाडौं । नयाँ बीमा ऐनअनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा रुपान्तरण हुन मन्त्रिपरिषदले बाटो खोलिदिएपछि संस्थानका प्रशासक कवि पाठकलाई पद जाने हो कि ? भन्ने चिन्ता बढेको छ । 
  
संस्थान कम्पनीमा रुपान्तरण हुने प्रक्रिया चलिरहेको बेला पाठक अहिले आफ्नो पद जोगाउन दौडधुपमा लागेका छन् । संस्थानलाई राष्ट्रिय जीवन बीमा कम्पनीमा रुपान्तरण गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले हालै स्वीकृत गरेको हो । बीमा ऐनअनुसार कात्तिक २२ भित्र संस्थान कम्पनीमा रुपान्तरण नभएको भए स्वतः विघटन हुन्थ्यो । 

संस्थान कम्पनीमा रुपान्तरण भएसँगै हालका प्रशासक पाठकको जागिर पनि स्वतः समाप्त हुन्छ । तर पाठक भने नयाँ कम्पनीको प्रमुख कार्यकारी कायम रहन अहिले नेताहरुको घरदैलोदेखि अर्थ मन्त्रालय धाउन थालेका छन् । उनले यस कुरालाई बाध्यता भएको स्वीकार पनि गरे । 

Advertisement

पाठकले भने, ‘अब त केही पनि टुंगो भएन । मेरो हातमा प्रबन्धपत्र नियमावली परेको छैन् । अब निश्चित नभएको कुरामा के बोल्नु ? के लेख्नु हुन्छ ? मेरो पदको विषयमा केही निर्णय भइसकेको छैन । मलाई राख्ने वा निकाल्ने अर्थ मन्त्रालयले निर्णय गर्ला नि ।’ 

मन्त्रालयले छिट्टै निर्णय गरिदिए आफूहरुलाई ढुक्क हुने उनको भनाई छ । पाठकले रुपान्तरिक नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन आफू तयारी अवस्थामा रहेको बताए । तर संस्थानको दोस्रो कार्यकाल प्रशासकको जिम्मेवारी सम्हालेका उनले संस्थानको पूरानो लगालिंग हिसाव मिलन गर्ने र बर्षौदेखिको लेखापरीक्षण सम्पन्न गर्ने, संस्थानको आर्थिक अवस्था सुधार गरी व्यवसायिक र आधुनिक ढंगले सञ्चालन गर्न कुनै भूमिका नखेलेको संस्थानका कर्मचारीहरुको आरोप छ । 

संस्थानलाई कम्पनीमा परिणत गर्न ढिलाई
राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा रुपान्तरण गर्न मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिए पनि संस्थान कम्पनीमा रुपान्तरण हुन लामो प्रक्रिया पूरा गर्न अझै बाँकी छ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट नयाँ कम्पनीको प्रवन्धपत्र र नियमावली स्वीकृत गरी प्रमाणपत्र नदिएसम्म कात्तिक २२ पछि संस्थानको कुनै वैधानिक अस्तित्व हुँदैन् । 

नयाँ कम्पनीको कार्यकारी प्रमुख अहिलेकै प्रशासक रहने कि नयाँ नियुक्ति हुने ? भन्ने कुराको अन्योलताले कम्पनी दर्ताको प्रक्रिया समेत प्रभावित भएको छ । यता अर्थ मन्त्रालयले भने चाँडै कम्पनीमा परिणत गर्न संस्थानलाई दबाब दिएको छ । पाठकलाई दोहोर्याउने पक्षमा अर्थ मन्त्रालयको अहिलेको नेतृत्व देखिन्न । उनी तत्कालिन केपी ओली नेतृत्वको पालामा नियुक्त भएका व्यक्ति भएकाले पनि उनलाई कायम राख्ने पक्षमा अर्थमन्त्री प्रकाशशरण महत छैनन् । तर यो संक्रमणकालिन अवस्थामा नयाँ कार्यकारी के कसरी नियुक्त गर्ने ? वैधानिक र व्यवहारिक कठिनाई छ । यही अन्योलताले गर्दा संस्थान कम्पनीमा रुपान्तरण हुने कुरा पनि थप अन्योलमा परेको छ । 

आइतबार पाठकले सोमबार नै आफूहरुले राष्ट्रिय बीमा संस्थानलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा गएर दर्ता गराउने बताएका थिए । तर आज सो काम हुन सकेन् । यही अवस्थामा बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका मुख्य निर्णयकर्ताहरु भने विदेश भ्रमणमा निस्किएका छन् । यो स्थितिमा कात्तिक २२ पछि संस्थानलाई कस्ले सम्हाल्ने ? भन्ने गम्भीर प्रश्न खडा भएको छ । 

Advertisement

Advertisement