वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

Advertisement

फुङ्लिङ । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ ।     
     
फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै लगेका छन् । उनले भने, ‘अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु ।’ अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचडाव आइरहने भएकाले अलैँचीको विकल्पमा किवी खेती विस्तार गर्दै लगेको भट्टराईले बताए । 

सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गएपछि शुक्रराज लिम्बूले पर्यटकीय क्षेत्रमा किवी खेती विस्तार गरेका छन् । लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भयो । छरछिमेक घर छोडेर बसाई सरेर गए । 

Advertisement

पर्यटकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्न थाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् । घर भने त्यतिकै छ । 

स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खाजी गर्न थाले 
। रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो । उनले किवी खेती विस्तारै गर्न थाले । लालीखर्कका फाँटमा किवीको बोट झाङ्गिन थालेको छ । 


सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गर्नुभएको लिम्बुले बताए । अर्को वर्षदेखि व्यवसायिक उत्पादन हुने उनको भनाइ थियो । कृषि ज्ञान केन्द्र ताप्लेजुङले किवी किसानलाई रु पाँच लाख अनुदान दिएको छ । रु पाँच लाख अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गर्नुभएको किसान लिम्बूले बताए ।      
     
जिल्लामा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् । खेतीमा संलग्न किसानले किवी फल आम्दानीको राम्रो स्रोत बनेको बताउनेगरेका छन् । फुङ्लिङ –७ का स्थानीय राजकुमार गुरुङले आफ्नो चार रोपनी क्षेत्रफल बराबरको जमिनमा किवी खेती लगाएको र सोबाट राम्रो आम्दानी भइरहेको सुनाए । यहाँले कमै, कोदोजस्ता खेती गर्ने बारीमा किवी खेती विस्तार गरेका छन् । 
     
छ वर्षअघि व्यवसायिक किवी खेती सुरु गरेका गुरुङले तीन वर्षयता किवी खेतीबाट राम्रो आम्दानी लिँदैआएको बताए । उनले गत वर्ष किवीबाट रु दुई लाख ५० हजार आम्दानी गरेको र यस वर्ष पनि हाल धमाधम किवी बिक्री गर्न सुरु भएकाले राम्रै आम्दानी हुनेमा विश्वस्त रहेको गुरुङले बताए । उनका अनुसार यस वर्ष किवीको बजार मूल्य पनि राम्रो रहेको छ ।     
     
गुरुङजस्तै जिल्लामा धेरै किसानले किवीको व्यवसायिक खेती गर्दैआएका छन् । फुङ्लिङ नगरपालिकाबाहेक सिरिजङ्घा , फक्ताङ्लुङ , सिदिङ्वा, मैवाखोला गाउँपालिका लगायतका क्षेत्रमा स्थानीय किसानले व्यावसायिक किवी खेती लगाएका छन् ।     
     
एक पटक बिरुवा रोपेपछि धेरै वर्षसम्म फल्ने भएकाले किवीबाट राम्रो फाइदा हुने सिरिजङ्घा –५ पेदाङका स्थानीय खेलप्रसाद बुडाक्षेत्रीले बताए । सुरुमा जिल्लामा किवी खेती विस्तार गर्नुपर्छ भनेर विभिन्न किसानलाई प्रेरित गर्दै किवी खेतीका अभियान्ताका रूपमा परिचित बुडाक्षेत्रीले किवी आम्दानीको भरपर्दो र राम्रो स्रोत भएको बताए । 
     
आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि व्यवस्थित बजारको आवश्यक रहेको उनको भनाइ छ । बुडाक्षेत्रीले भने, ‘बजार अभावका बाबजुद किसानले खेतीमा गरेको लगानीअनुसार निकै राम्रो आम्दानी गरिरहेका छन् ।’
     
किवीको स्थानीय बजार मूल्य प्रतिकिलोग्राम रु दुई सय ५० सम्म रहेको छ । हाल किवीको मौसम सुरु भएसँगै अर्थात् पाक्न थालेपछि धमाधम बिक्री गर्न सुरु गरेको किसानको भनाइ छ । सदरमुकाम फुङ्लिङसहित स्थानीय बजारमा किवी बिक्री गर्दै आएका किसानले जिल्ला बाहिर झापा, मोरङ र सुनसरीलगायतका व्यापारीबाट पनि किवीको माग हुन थालेको किसान अमृता गुरुङले बताइन् । 
     
फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हुँदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न थालेका छन् । ताप्लेजुङमा सात–आठ वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा सुरुमा प्रतिकिलो रु छ सयसम्म खरिद÷बिक्री भएको किसानहरूको भनाइ छ ।     
     
फक्ताङ्लुङ –४ इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उनको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताए । 

Advertisement

Advertisement