आर्थिक मन्दीले पूर्वका उद्योगहरुमा कामदार निकाल्न सुरु, उद्योगीहरु सडकमा निस्किने तयारीमा

Advertisement

काठमाडौं । आर्थिक मन्दीका कारण उद्योग सञ्चालन गर्न निकै कठिन भएको भन्दै पूर्वका उद्योगीहरुले कामदारहरु निकाल्न सुरु गर्नुका साथै आफूहरु सडकमा निस्किने तयारी गरेका छन् । 

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगले आर्थिक मन्दीसँगै बजारमा माग निकै घटेर गएको र बैंकको चर्को ब्याजदरले गर्दा सञ्चालन खर्च धान्न नसक्ने अवस्था आएकाले कामदार निकाल्न बाध्य भएको बताएका छन् । 

Advertisement

उद्योगी तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले २०७८ फागुनदेखि नेपाल राष्ट्र बैंकले जुन नीति लियो र सरकारले चालु खर्च अध्यधिक बढाउने तथा विकास खर्च न्यून गर्ने नीति लिएका कारण अहिले आर्थिक मन्दीको सामना गर्नुपरेको बताउँदै पूर्वका उद्योगहरु सञ्चालन गर्न मुस्किल स्थितिमा पुगेको बताए । 

बजारमा माग निकै घटेकाले उत्पादन घटाएर ५० प्रतिशतभन्दा कम गरेको बताउँदै उनले कतिपय उद्योगले ७० प्रतिशतसम्म उत्पादन घटाएको उदाहरण दिए । आर्थिक मन्दीका कारण बजारमा माग घट्दै गएको र बैंकको ब्याजदर चर्को भएकाले सञ्चालन खर्च धान्न मुस्किल परेको रिजालको गुनासो छ । 

उत्पादन लागत बढ्दै गएको बेला उत्पादनमा भारी कटौती गर्नुपर्दा उद्योगहरुलाई ठूलो नोक्सानी भइरहेको उनले बताए । रिजालले उद्योगीहरुले अहिले भइरहेको उत्पादन पनि खपत गराउन गाह्रो भइरहेको बताए । 

रिजालले भने, ‘हामीले २०७८ फागुनदेखि नै मोरङ व्यापार संघले प्रधानमन्त्री, अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउँदा पनि कुनै पनि सुनुवाई नभएकोले आर्थिक यो स्थिति आयो । हामीले शिक्षाको नीति ल्याइदिनु भन्यौं । पर्यटनको कुरा गर्यौं । उत्पादनमूलक उद्योगहरुको कुरा गर्यौं । करको कुरा गर्यौं । कुनै पनि कुरामा राज्यले ध्यान नदिएका कारण आज दैनिक ४५ सयदेखि पाँच हजारसम्म बाहिरिने अवस्था आयो । यो बीचमा नै ६०–७० लाख युवा विदेशिए ।’

ठूला संख्यामा युवाहरु विदेशिएका कारण नेपालको उपभोग गर्ने क्षमता घटेको बताउँदै उनले नेपालीहरुको क्रयशक्ति घटेर गएको, जनतासँग पैसा नरहेको, भएको पैसा पनि बैंक, वित्तीय संस्था र सहकारीलाई तिर्न खर्चनुपरेको, जसको कारण बैंकिङ क्षेत्रमा संलग्न कर्पोरेट हाउसले मात्रै पैसा कमाउने अवस्था आएको तर आम जनता र समग्र उद्योग व्यवसायको अवस्था भने कमजोर हुँदै गएको बताए । 

रिजालले ६–७ प्रतिशत ब्याजदरमा लिएको बैंक ऋणको ब्याजदर अहिले १३–१५ प्रतिशतसम्म पुगेको भन्दै बैंकलाई दोब्बर बढी ब्याज तिरेर उद्योगले क्षमता अनुसार वस्तु उत्पादन गर्न नसक्ने बताए । उनले भने, ‘उद्योगले जेनतेन उत्पादन गरेका वस्तुपनि आर्थिक मन्दीका कारण बजारमा माग नै नहुँदा उद्योगमै स्टक हुने गरेको छ । उद्योगले उत्पादन कटौती गरेसँगै मजदुर पनि पलायन हुन थालेका छन् । उद्योगमा काम पाउन छाडेपछि मजदुर वैदेशिक रोजगारीका लागि विदेश पलायन हुन थालेका छन् ।’ पूर्वका उद्योगहरुले आर्थिक मन्दीकै कारण अहिले कामदारहरु निकाल्न बाध्य भएको रिजालले स्वीकार गरे । 

उनले अहिले निजी क्षेत्र धरासायी अवस्थामा रहेको दावी गरे । उनले एक पटक पुनः सरकारको ध्यानाकर्षण गराउने तयारीमा आफूहरु रहेको बताउँदै रिजालले समस्या समाधान नभए उद्योगी व्यवसायी सडकमा उत्रिन बाध्य हुने चेतावनी दिए । 

भारतमा आर्थिक मन्दीको अवस्था नरहेको र तीब्ररुपमा आर्थिक विकास भइरहेको बेला नेपालमा किन आर्थिक मन्दी सुरु भयो ? भन्दै उनले प्रश्न पनि गरे । रिजालले यसको मुख्य कारण नीतिगत भ्रष्टाचार मौलाउनु, भ्रष्टाचार बढ्दा बजारमा पैसा हराउने अवस्था आउनु, विकास खर्चभन्दा फजुल खर्च धेरै हुनु, विनियोजन गरेको विकास बजेट पनि खर्च हुननसक्नु, बैंकहरुले अत्यधिक कार्टेलिङ गरेर बढी मुनाफा कमाउन लाग्नु, राजनीतिक र प्रशासनिक तह देशको आर्थिक विकास र नीति निर्माणमा गम्भीर हुन नसक्नु भएको बताए । राष्ट्र बैंक र बैंकिङ क्षेत्रको आफ्नो कमजोरीले गर्दा अहिले पाँच खर्च रुपियाँ लगानी हुननसकेर थुप्रिने अवस्था आएको रिजालको तर्क छ । 

उनले सरकारले संस्थागत ब्याजदर बढीमा ५–६ प्रतिशत कायम गरेर निजी बैंकहरुको सेण्डिकेड नतोडेसम्म यो समस्या कायमै रहने दाबी पनि गरे । निजी क्षेत्र अब चर्को ब्याजदरमा ऋण लिनसक्ने अवस्थामा नरहेको बताउँदै अध्यक्ष रिजालले निजी क्षेत्र नआए बैंकको पैसा पनि लगानी हुननसक्ने बताए । 

उनले भने, ‘त्यसका लागि एउटा म्याण्डेड दिएका छौं राज्यलाई । सरकारी पैसा सरकारी बैंकमा राखौं । संस्थागत व्याजदर चाहिँ मुद्रास्फीति दरभन्दा नबढ्ने गरी राखौं ताकी निजी क्षेत्रले कम ब्याजदरमा ऋण लिन पाउँछन् । यसले उद्योग व्यवसाय फस्टाउने मौका पाउने छ । यी यावत कुराहरु भनिरहँदा पनि सरकार र राष्ट्र बैंकले नमानिदिएकाले अहिले विषम अवस्था सिर्जना भएको हो । अहिले युवाहरु बेरोजगार भएर विदेशिएका छन् । यही स्थिति रहे निजी क्षेत्र पनि देश छोडेर पलायन हुनुपर्ने अवस्था आउँछ ।’

अध्यक्ष रिजालले अहिलेकै अवस्था कायमै रहे उद्योगीले चाँडै उद्योग बन्द गरेर उद्योगको साँचो सरकारलाई बुझाउने स्थिति आउने बताउँदै सडकमा उत्रनु आफूहरुको लागि रहर नभएर बाध्यता हुने बताए । 
 

Advertisement

Advertisement