अदालतको आजको आदेशले आजियटालाई एनसेलको शेयर बिक्री गर्न रोकेको छः डा भण्डारी

Advertisement

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले उच्च अदालत पाटनको आदेशको आदेशले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको मलेसियत साझेदार आजियटा समूहलाई शेयर बिक्री गर्न रोकेको बताएका छन् । 

अदालतले एनसेलको शेयर खरीद बिक्री सम्बन्धमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनेनदिने सम्वन्धमा छलफल गर्न बोलाएकाले अर्को आदेश नहुँदासम्म आजियटाले एनसेलको आफ्नो शेयर अर्कोलाई बिक्री गर्न रोक्ने उनले बताए । 

Advertisement

आजियटाले एनसेलको स्थानीय सतिशलाल आचार्यलाई आफ्नो शेयर बिक्री गर्न लागेपछि रोक्न माग गर्दै रिट दायर भएको थियो । उक्त रिटमा आज शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश दिँदै अन्तरिम आदेशसम्वन्ध छलफल गर्न आउँदो मंसिर २६ गतेलाई सम्वन्धित पक्षलाई छलफलका लागि बोलाएको छ । 

डा. भण्डारी भन्छन्, ‘यसमा अदालतले छलफलका लागि झिकाएको छ । यति भइसकेपछि उनीहरुलाई किनबेच गर्न गाह्रो हुन्छ । किनभने यो बीचमा शेयर ट्रान्सफर भयो भने पनि बदर गरी पाउँ भनेर हामीले माग गरेका छौं । यसअघि नै किनबेच गरेको भनेर दावी गरियो भने पनि अदालतले बदर गर्नसक्ने ठाउँ छ ।’

एनसेलको शेयर खरीद बिक्री रोक्न माग गर्दै गोकुलबहादुर रोकायाले निवेदन दर्ता गरेका थिए । निवेदनमा कम्पनी रजिष्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाइएको छ । सो निवेदनमाथि भएको सुनुवाईपछि आज अदालतको यस्तो कारण देखाउ आदेश जारी गरेको हो । अन्तरिम आदेश दिने वा नदिनेबारे भनेसम्वन्धमा दुवै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै अदालतले मंसिर २५ गतेका लागि पेशी तोकेको हो । 

आदेशमा भनिएको छ, ‘यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको देखिएको र निवेदकले निवेदनमा उल्लेख गरेको विषयवस्तु र आजियटा ग्रुपबाट एनसेलको टिमलाई जानकारी गराएको सुचना समेतको सन्दर्भबाट हेर्दा दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी हुने नहुने सन्दर्भमा आदेश जारी गर्नु उपयक्त र मनासिव देखिँदा २०८०–८–२५ को छलफल पेशी तोकी सोको सुचना पक्षहरुलाई रितपूर्वक दिई नियमानुसार पेश गर्नुहोला ।’

Advertisement

Advertisement