अमेरिकामा गोली आक्रमणः ३ जनाको मृत्यु, १ घाइते

Advertisement

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्याइएको छ ।

Advertisement

घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहार बारे अनुसन्धान जारी छ ।

गैर–नाफामुखी अनुसन्धान समूह ‘गन भाइलेन्स आर्काइभ’ ले जनाए अनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन् ।

अमेरिकाको टेनेसीमा भीषण आँधीः ६ जनाको मृत्यु, २३ जना घाइते
यता, अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा छ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् ।

शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीन जनाको मृत्यु भएको थियो।

मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ । रासस-सिन्ह्वा  

Advertisement