मीनबहादुर गुरुङको सहयोगले भावुक बने डा. भगवान कोइराला, बाल अस्पताललाई ४१ करोड सहयोग

Advertisement

काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् ।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ ।

Advertisement

निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपियाँ सहयोगको घोषणा गरेका हुन् ।

शुक्रबार अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेका थिए । डा. कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामका बारेमा गुरुङलाई फेहरिस्त बताए ।

डा. कोइरालाको भनाई सुनिसकेपछि गुरुङले सोधे– तपाईंलाई अस्पताल बनाउन अब कति सहयोग आवश्यक पर्छ ? हामीबाट कस्तो भवन अपेक्षा गर्नुभएको छ ?

डा. कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिवद्धता आएको र नजुटेको सम्बन्धमा जानकारी गराएपछि गुरुङले भने– मैले तपाईंको यो प्रोजेक्टका लागि ४१ करोड रुपियाँ सहयोग गर्छु ।

गुरुङ त्यतिमा रोकिएनन् उनले यसअघि त्रिवि शिक्षण अस्पतालमा गरेको सहयोगको स्मरण गर्दै भने– घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ । पार्टनरलाई २५ करोडसम्म सहयोग गर्न सक्छु भनेको थिएँ तर यहाँ आइसकेपछि मैले ४१ करोड सहयोग गर्ने घोषणा गरेँ ।

गुरुङले यस्तो घोषणा गरेपछि डा. भगवान कोइराला केहीबेर भावुक बने । कोइरालाले भने– हामीले पैसा नै नभएको बेला बनाउन थालेका हौँ । मैले यो खुसीको क्षणलाई बयान गर्नै सकेको छैन । अहिले मैले यतिमात्रै भन्छु– इट इज ह्युज अमाउन्ट । दिस इज गेम चेन्जर ।

उनले अहिले घोषणा भएको यो सहयोगले देशका लागि केही गर्न खोज्ने व्यक्तिको कमी नभएको उल्लेख गरे । कोइरालाले भने– यो सहयोगले बिग भिजनलाई अब सम्पन्न हुने बनायो । म फेरि पनि भन्छु यो भगवान कोइराला या बोर्डको मात्रै होइन । देशकै लागि गरिएको काम हो । आज मिनबहादुरजी पिलर बनेर आउनुभयो । नेपालमा पनि यस्तो मन खोलेर सहयोग गर्ने व्यक्ति हुनुहुन्छ भन्न पाउँदा हामीलाई गर्व लागेको छ । यो आम नेपालीको लागि खुसीको कुरा हो ।

कोइरालाको अभियानअनुसार कोसीको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ । अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ । डा. कोइरालाले भने– अहिले पनि दमकस्थित बाल अस्पतालमा दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको छ । यो अस्पतालले पूर्व क्षेत्रमा धेरै सहयोग गरेको हामीले पाएका छौँ ।

सहयोग रकम घोषणापछि भाटभटेनीका अध्यक्ष गुरुङले पनि राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई भित्रैबाट खुसी लागेको बताए । उनले भने– राम्रो काम गर्न पाउँदा मलाई खुसी लागेको छ । घरबाट आउँदा २५ करोड सहयोग गर्ने तयारी थियो । जसले राम्रो काम गर्छ उसलाई सहयोग गर्नुपर्छ भन्ने मलाई यहाँ लाग्यो पनि । त्यसैले मैले ४१ करोड सहयोग रकमको घोषणा गरेँ ।

गुरुङले अहिलेको समयमा धेरैलाई समस्या रहे पनि  कसैले राम्रो काम गर्छ भने उसलाई सहयोग गर्न सबै तयार हुनुपर्ने र त्यो देशकै लागि सहयोग हुने बताए । यो निस्वार्थ भावले गरेको काम हो भन्दै उनले त्यसैले स्वार्थरहीत काममा सहयोग गर्न पाउनु मेरो खुसीको कुरा हो भने । 

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन् । २०६८ सालमा बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाइदिएका छन् । उक्त भवन ११ करोड रुपियाँमा निर्माण गरिएको थियो भने भूकम्पपछि सोही स्थानमा उनले अर्को भवन पनि निर्माण गरिदिए ।

पछिल्लो ईएचएस भवन १५ करोड लागतमा निर्माण गरिदिएका हुन् । गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका हुन् ।

उनीहरुको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोर्दै आएको छ । भाटभटेनीले अहिले पनि ४१ करोड बराबरको भवन निर्माण गरिदिने घोषणा गर्दै गुरुङले उक्त भवन अहिलेसम्मकै अत्याधुनिक हुने बताए । करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना छ ।

बनाइदिने यो भवनमा बेसमेन्ट पार्किङ, इमर्जेन्सी, त्यहाँ २० शैया रहनेछ भने सोही भवनमा आईसीयू, एनआईसीयूलगायत कक्ष रहनेछन् भने माथि हेलिप्याड पनि रहनेछ ।

डा. कोइरालाले अहिलेसम्म जुटेको रकम सबै एकदमै पारदर्शी रुपमा खर्च भइरहेको उल्लेख गर्दै जुन प्रयोजनका लागि सहयोग आएको छ त्यहीँ मात्रै खर्च हुने बताए । उनले भने– हाम्रो प्रतिवद्धता के छ भने अहिलेसम्म जति पनि सहयोग आयो । एक दुईजनाबाहेक जसले जे प्रयोजनका लागि सहयोग गरेको हो त्यहीँ नै खर्च गर्छौँ । त्यो भवनको नाम, उहाँको नाममा या उहाँले इच्छाइएको व्यक्तिको नाममा हुनेछ । अहिलेसम्म डुब्लिकेट नहुनेगरी काम गरिएको छ ।

कोइरालाले गएको तीन चार वर्ष यही प्रोजेक्टका लागि आफू निकै कम समय मात्रै आराम गरेको बताउँदै थपे– पहिले सहजै बनाउन सकिएला भनेका थियौँ यो चार वर्षको अवधिमा म ६ महिनामात्रै सुतेको हुँला । कोभिड भयो, आर्थिक संकट देखियो । सक्ने मान्छे पनि नसक्ने भए । सोचेजस्तो सजिलो भएन । देखिएको थिएन तर आजको यो घोषणाले मलाई उत्साही बनाएको छ । अब भने पक्का यो अस्पताल निर्माण हुनेछ ।

Advertisement

Advertisement