सूर्य-ज्योति मर्जर विवादः पूरानै कम्पनीको छुट्टाछुट्टै लेखापरीक्षण गरिनु वैधानिक प्रश्न हो– विज्ञ

Advertisement

काठमाडौं । बीमा विज्ञहरुले मर्जर गएर एकीकृत कारोबार गरिसकेको कम्पनीले मर्जरअघिकै पूरानो कम्पनीको छुट्टाछुट्टै लेखापरीक्षण गर्नुपर्ने अवस्था आउनु गम्भीर वैधानिक प्रश्न भएको बताएका छन् । 

नेपाल बीमा प्राधिकरणले तत्कालिन ज्योति लाइफ इन्स्योरेन्सको हिसावकिताव नमिलेको कारण देखाउँदै मर्जरअघि कै अवस्थाको पुनः लेखापरीक्षण गर्न निर्देशन दिएसँगै हालको एकीकृत सूर्य ज्योति लाइफ इन्स्योरेन्सको मर्जर असफल भएको ठहर गरिएको छ । 

Advertisement

आवश्यक तयारी र पूर्वशर्त पूरा नगरी मर्जरमा जाँदा ‘डि–मर्जर’ हुनसक्ने बताउँदै उनीहरुले यस्ता धेरै उदाहरण रहेको बताएका छन् । बीमा विज्ञ भोजराज शर्माले मर्जरअघि नै सूर्य ज्योतिले हिसावकिताब नमिलाउनु ठूलो कमजोरी भएको बताउँदै मर्जरअघिको फरक फरक वित्तीय विवरण बनाए पनि मर्जर असफल हुन नदिन नियामकले सहयोग गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपालको बीमा क्षेत्रमा धेरै वटा कम्पनी मर्जर भएका छन् । यी कम्पनीहरु ‘डि–मर्जर’मा जानुपर्ने अवस्था नआओस भन्ने म चाहान्छु । ‘डि–मर्जर’भन्दा पनि समस्या आएका कम्पनीहरुले आफूलाई रि–स्टक्चरिङ’ (पुर्नसंरचना) गर्न सक्छन् । सञ्चालक समिति र सीईओ (प्रमुख कार्यकारी अधिकृत) फेरबदल गर्न सकिन्छ । कर्मचारी समायोजनमा समस्य आएको छ भने त्यसमा फेरबदल गर्न सकिन्छ । सूर्य ज्योतीको हकमा वित्तीय विवरण नै फरक फरक बनाउनुपर्ने जुन नयाँ कुरा आएको छ, यो चाहिँ अल्ली अर्कै कुरा हो । गम्भीर कुरा नै छ ।’ 

मर्जरमा जानुअघि नै तत्कालिन ज्योति लाइफले हिसाब मिलाउँछु भनेर सोचेर पनि गर्न नसकेको हुनसक्छ भन्दै शर्माले मर्जरका क्रममा भएका कमजोरीमा नियामकले सहयोग गर्नु उपयुक्त हुने बताए । अरु देशमा पनि त्यस्तै चलन रहेको उनले बताए । शर्माले उनले सूर्य लाइफ र ज्योति लाइफको फरक फरक ‘व्यालेन्स सिट’ बनाए पनि मर्जरमा भएका बीमा कम्पनीहरुको हिसाब किताब बिग्रिन नहुने बताए । कम्पनीले ‘कन्सोलिटेड व्यालेन्स सिट’ बनाएर जानसक्ने उनले बताए । यद्यपि प्राधिकरणले सो कुरा यसअघि नै अस्वीकार गर्दै ज्योति लाइफको नमिलेको हिसाब मिलाएर फरक फरक लेखापरीक्षण गर्न निर्देशन दिइसकेको छ । 

शर्मा भन्छन्, ‘अब ज्यादै विशेष परिस्थिति बन्यो, मर्जरअघिको एउटा पक्षले हिसावकिताव मिलाउनै सकेन्, हिसाब नमिलेका कारण मर्जरका पक्षबीच विवाद बढ्दै गयो भने चाहिँ ‘डि–मर्जर’ पनि नहोला भन्न सकिन्न । यस्तो अवस्थामा जुनसुकै बीमा कम्पनी भए पनि उसको ‘लिगालिटी’ (वैधानिक अस्तित्व)मा प्रश्न उठेर पहिलाकै अवस्थामा फर्किनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।’

अर्का बीमा विज्ञ डा. रवीन्द्र घिमिरेले बीमा कम्पनीको वैधतामा सबैको चासो रहने बताउँदै हिसाब किताब नै नमिलेको अवस्थामा मर्जरमा गएको कम्पनीको पुनः हिसाब किताब गर्नुपर्ने अवस्था आउँदा भने त्यसलाई वैधानिक मर्जर कसरी भन्ने ? भनेर प्रश्न गरे ।

उनले भने, ‘कुनै कम्पनी विशेषको मर्जरको कुरामा कुनै टिप्पणी नगर्दा पनि हुने हो । यद्यपि बीमा कम्पनी भनेको पब्लिक कम्पनी पनि भएकाले यसका गतिविधि र कारोबारमा सबैको चासो रहन्छ ।  वैद्यतामा चासो रहन्छ । मर्जरअघिको हिसाब किताब फरफारक नभई कुनै पनि बीमा कम्पनीको मर्जर भएको छ र दुई वटा वित्तीय विवरण बनाउनुपर्ने अवस्था अहिले सिर्जना भएको छ भने त्यस्तो अवस्थामा यसलाई वैधानिक मर्जर भन्ने कि नभन्ने ? भन्ने बिषय हो । प्रक्रियामा नै प्रश्न आयो ।’ घिमिरेले हिसाबकिताव नै फरफारक नभएको अवस्थामा प्राधिकरणले के आधारमा सूर्य लाइफ र ज्योति लाइफलाई मर्जरका लागि अनुमति दियो ? भन्ने कुराको आफूसँग उत्तर नरहेको बताए । 

Advertisement