सानिमा रिलायन्सका सीईओ आफैले गरेका छैनन बीमा, किन होला ?

Advertisement

काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले समयमै नागरिकलाई बीमा बुझाउन नसक्दा बीमाप्रति अपेक्षाकृत मानिसहरुको आकर्षण बढ्न नसकेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले उमेर ढल्किएपछि कसैले पनि बीमा गर्दैन्, बीमा गर्ने भनेको उमेर छँदैमा हो भन्दै भने, ‘बीमा भन्ने कुरा पहिला मानिसले बुझ्नुपर्यो । बुझेपछि मात्रै बीमा गर्ने विषय हो । उमेर हदका कारण बीमामा आकर्षण कम रहेको छ । यसमा म त नागरिकको गल्ती देख्दिन । उमेरमै उहाँहरुलाई बीमा गरेमा जोखिमको रक्षावरण हुन्छ भनेर बुझाउन सकेको भए धेरैले बीमाबाट लाभ लिने अवस्था बन्थ्यो भन्ने मलाई लाग्छ । यसमा हामी सबैको कमजोरी भएको छ । यो मलाई लागेको कुरा हो । व्यक्तिगत विचार हो ।’

Advertisement

पाण्डेले अरु व्यावसाय जस्तो बीमा व्यवसाय होइन् भन्दै बीमा बुझाउन नसक्दा जोखिममा भएकाहरुलाई बीमाको दायरामा ल्याउन नसकिएको स्वीकार गरे । उनले भने, ‘बीमाको विषयमा हामीले भन्ने भन्दा पनि तपाइँहरु आफैले मूल्यांकन गर्ने कुरा हो । अरु देशमा जति महत्व बुझेर बीमा गरिन्छ, त्यति हाम्रोमा हुन सकेको छैन् । अर्को कुरा हाम्रोमा अरु व्यावसायभन्दा बीमाको व्यवसाय ल्याउन त्यति सहज पनि छैन । जोखिममा भएका सबैले बीमा गर्न अग्रसर भएको पाइँदैन् । यसमा उहाँहरुकै पनि केही समस्या होला ।’

उमेर ढल्किदै गएका कारण आफूले समेत बीमा नगरेको सीईओ पाण्डेले सुनाए । नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त गरेपछि बीमा क्षेत्र रोजेका उनी ६० नाघिसकेका छन् । पाण्डेले बीमा जसलाई आवश्यक छ, जसलाई जोखिमले हानी पुयाउँछ, सकेसम्म त्यस्ता व्यक्ति र संस्थाले बीमा गर्न पछि हट्न नहुने बताए । 

हाल नेपालको कूल जनसंख्यामा २१ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको र उनीहरुले बीमामा सहभागी हुने अवसर पाउन नसकेको बताइन्छ । पाँच प्रतिशतको हाराहारीमा रहेका धनी वर्ग पनि बीमामा जोडिन रुचाउने गरेको देखिन्न । लाखौंको संख्यामा युवाहरु नेपाल बाहिर रहेका छन् । उनीहरुले पनि नेपालमा बीमा गराउँदैनन् । नेपालमा रहेको विशेषगरी मध्यम वर्ग बीमामा सहभागी हुने गरेको देखिन्छ । यस्तो वर्ग करिव ८० लाख रहेको अनुमान गरिन्छ ।  

यता नेपाल बीमा प्राधिकरणले नयाँ प्रोडक्ट (उत्पादन) रनयाँ बीमालेख ल्याएर बीमाको दायरामा नअटाएकाहरुलाई ल्याउन सुझाव दिँदै आएको छ । न्यून आयस्तरका जनताको बीमाको लागि भन्दै लघुबीमा कम्पनीहरुलाई समेत लाइसेन्स दिइएको छ भने बीमा कम्पनीहरुको आर्थिक अवस्था सबल बनाउन र दावी भुक्तानी सहजरुपमा गर्नसक्ने बनाउन भन्दै डेढ सय प्रतिशतले पुँजी वृद्धि गर्ने, मर्जरमा लगेर संख्या घटाउने, जोखिम बहन कोष खडा गर्न लगाउने जस्ता काम समेत गर्दै आएको छ । 

जीवन बीमा कम्पनीहरुको सबलीकरणको प्रयास भए पनि उनीहरुले दिने प्रतिफल भने सोहीअनुसार बढ्न सकेको छैन् । बीमा गर्नसक्ने र गर्नुपर्ने जनसंख्याको ठूलो हिस्साले बीमा बुझ्न किन सकेको छैन् ? यसमा अहिलेसम्म खासै समीक्षा भएको देखिन्न ।

Advertisement