विश्वका अग्ला १४ हिमाल चढेर विश्वकै पहिलो ‘हाइअल्टिच्युट क्यामेराम्यान’ बन्ने दौडमा फुर्वा

Advertisement

काठमाडौं । ‘हाइअल्टिच्युट क्यामेराम्यान’ फुर्वा सोनाम शेर्पाले विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गरेर विश्वकै पहिलो ‘हाइअल्टिच्युट क्यामेराम्यान’ बन्ने दौडमा छन् । त्यसका लागि उनले १२ वटा हिमालको आरोहण पूरा गरिसकेका छन् । अब मकालु र शिशापाङ्मा हिमालको सफल आरोहण गरेर आफ्नो लक्ष्य पूरा गर्ने योजनामा उनी छन् ।  

विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाललाई ‘फोर्टिन पिक्स’ भनिन्छ, जुन हिमालहरु आरोहण गरेपछि हिमाल आरोहणका क्षेत्रमा महत्वपूर्ण सफलता मानिन्छ । फुर्वाले अन्नपूर्ण, ल्होत्से, मनास्लु, सगरमाथा, कञ्चनजङ्घा, नाङ्गा पर्वत, गाशरब्रम–१, गाशरब्रम–२, ब्रोडपिक, केटु, धौलागिरी, चोयु हिमालको आरोहण गरिसकेका छन् । आठ हजार ४६३ मिटर उचाइको मकालु नेपालमा पर्छ भने आठ हजार २७ मिटर उचाइको शिशापाङ्मा तिब्बतमा पर्छ । 

Advertisement

सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित खरिखोलामा जन्मिएका उनले सन् २०१९ को अप्रिल २३ तारिखदेखि २०२३ को अक्टोबर २ तारिखको अवधिमा विश्वका अग्ला १४ मध्ये १२ वटा हिमाल आरोहण गरेका हुन् । फुर्वाले यो आरोहणको सुरुवात अन्नपूर्णबाट गरेका थिए । 

उनले ल्होत्से तीन पटक, सगरमाथा दुई पटक, मनास्लु तीन पटक आरोहण गरेका छन् भने बाँकी एक–एक पटक गरेका छन् । फुर्वाले मेरा पिक, आइस ल्याण्ड पिक, अमाडब्लाम, चुलु फार इस्ट, दक्षिण अमेरिकामा रहेको आकाङकागुवा लगायतका थुप्रै पिकहरुको पटक पटक आरोहण गरिसकेका छन् ।

फुर्वाले १३६ दिनमा विश्वका अग्ला १४ मध्ये ११ वटा हिमाल आरोहण गरेका छन् भने सगरमाथा र ल्होत्से २४ घण्टाभन्दा कम समयमा, धौलागिरी र चोयु चार दिनमा आरोहण गर्दै आफ्नो कुशलता र क्षमता प्रस्तुत गरेका छन् । उनले २६ दिनमा पाकिस्तानमा रहेका आठ हजार मिटर अग्ला पाँच वटा हिमाल आरोहण गरेका थिए । 

फुर्वा शेर्पाले सन् २००८ को अक्टोबरमा पहिलो पटक चुलु फार इस्ट (६,०५० मिटर)को आरोहण गरेर हिमाल आरोहण यात्राको शुरुवात गरेका थिए । उनी अहिले ३९ वर्षका भए । फुर्वाले लामो समय भरिया, किचन हेल्पर, एसिस्टेन्ट गाइड, गाइड हुँदै कुशल आरोही बन्न सफल भएका हुन् । 

सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले चुलु फार इस्टको आरोहण गर्ने मौका दिएर हिमाल आरोहणको ढोका खोलिदिएको फुर्वा बताउँछन । त्यस समय वरिष्ठ आरोही रहेका छाङदावासँगै सहायक आरोही भएर छ हजार ५० मिटर उचाईको चुलु फार इस्टको उनले आरोहण गरेका थिए । 

आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणका लागि भने विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको तत्कालिन निकै महत्वकांक्षी परियोजना ‘प्रोजेक्ट पोसिबल’को टिममा रहेर काम गर्न उनलाई विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेविट शेर्पाले प्रस्ताव राखेका थिए । 

यो टिममा काम गर्दा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल आरोहणको अवसर पाउने सम्भावना प्रवल रहने मिङ्मा डेबिट शेर्पाले बताएपछि आफू यो परियोजनालाई सफल बनाउन ज्यानको बाजी मारेर लागिपरेको फुर्वाले सुनाए । उनले यही ‘प्रोजेक्ट पोसिबल टिम’को हिस्सा भएर अन्नपूर्णबाट कीर्तिमानका लागि आरोहण सुरु गर्दै अहिले १२ वटा पूरा गर्न सफल भएका हुन् । 

फुर्वाले १४ मध्ये पहिलो हिमाल आरोहण सफल गर्दा आफूलाई निकै खुशी लागेको अनुभव सुनाउँदै भने, ‘हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ । त्यो त्यही एउटा पाइला थियो, जो हजार माइलको गन्तव्यलाई लक्ष्य बनाएर हिँडिरहेको छ । त्यो पनि विश्वकै पहिलो हाइअल्टिच्युट क्यामेरापर्सनको रुपमा ।’ सन् २०१५ देखि नै फोटोग्राफी गर्दै आएका फुर्वाको पहिलो हाईअल्टिच्युड फोटोग्राफीको शुरुवात अमाडब्लाम एक्सपिडिसनबाट भएको थियो । 

विश्व रेकर्डको नजिक पुग्दा यसको सफलतको पछाडी निर्मल पुर्जा र मिङ्मा डेबिट शेर्पाको महत्वपूर्ण साथ र सहयोग रहेको बताए । गएको अक्टोबर महिनामा शिशपाङ्मा गएको तर हिमपहिरोमा परि एक जना शेर्पा र अमेरिकन महिला आरोहीको मृत्युपछि आफ्नो परिवारमा पनि डर पैदा भएको सुनाउँदै फुर्वाले बाँकी दुई वटा हिमाल आरोहण गर्न जान दिन परिवारले नमानिरहेको बताए । 

उनले भने, ‘हुन पनि ज्यानभन्दा ठूलो के नै छ र दुनियाँमा ? तर पनि सकेसम्म चाँडो यो १४ पिकको लक्ष्य पूरा गर्ने र नेपाललाई आफ्नो क्षेत्रबाट चिनाउने योजनामा छु । यो लक्ष्य पूरा भएपछि पनि आफुले गर्नसक्ने काम निर्मल पुर्जा र मिङमा डेविट शेर्पासँगै गर्ने योजना छ ।’ नेपाली फोटोग्राफर भएर विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्नसक्नु आफ्नो लागि मात्र नभएर नेपाल र नेपालीलाई विश्वमा चिनाउने विषय पनि भएको फुर्वाले बताए । 

नयाँ पुस्तामा हिमाल आरोहणको आकर्षण घट्दै गएकोमा उनले चिन्ता जनाए । फुर्वाले भने, ‘व्यावसायिक हिमाल आरोहीहरुको विषयमा सरकारले कुनै पनि किसिमको सुरक्षित र व्यवस्थित योजनाहरु नबनाउनु र केही भएका नीतिहरुलाई पनि कार्यान्वयनमा खासै चासो नदेखाउनु  ठूलो समस्याको विषय हो ।’ उमेर हुँदासम्म ज्यानलाई हत्केलामा राखेर दुई–चार पैसा कमाइन्छ भनेर जोखिम मोल्ने । आरोहण गर्न नसक्ने अवस्था भयो भने परिवार र छोराछोरीको भविष्य कत्ति कठिन होला ? त्यो विषयमा सरकारले दश मनको एक मन पनि सोचेको छैन् ।’

Advertisement