कानून सच्याइएन भने तोकिएको समयमा द्रुतमार्ग बन्दैन्ः प्रधान सेनापति

Advertisement

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले विद्यमान कानून नसच्याएसम्म निर्धारित समयमा काठमाडौं–तराई द्रुतमार्ग नबन्ने बताएका छन् । 

बुधवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कानूनी उल्झनका कारण द्रुतमार्ग निर्माणको काम अगाडी बढाउन नसकिएको बताएका हुन् । 

Advertisement

शर्माले कानूनी प्रक्रियाका कारण ४ वटा रुख काट्न ९ महिनासम्म लाग्ने गरेको उदाहरण दिँदै यही कानूनी व्यवस्था रहिरहेमा २०८३ साल सम्ममा द्रुतमार्ग निर्माणको काम नसकिने स्पष्ट पारे । उनले विकास निर्माणमैत्री कानून नभएको भन्दै यसकारण काम गर्न ढिलाइ भइरहेको बताए । 

शर्माले पैसाको कारणले काम गर्न ढिलो नभएको स्पष्ट पारे । नेपाली सेनाले फास्ट ट्रयाक निर्माण गर्नका लागि नमागेको भन्दै सरकारले दिएको जिम्मेवारी स्वीकार गरेर काम गरिरहेको बताए । 

प्रधानसेनापति शर्माले भने, ‘नेपाली सेनाले फास्टट्रयाक कहिलेपनि मागेको होइन । हामीले मागेर यो भएको होइन । तपाइँहरुले नै दिएको हो । तपाइँकै सरकारले दिएको हो । त्यसलाई सहस्र स्वीकार गरेर काम गरिरहेका छौँ । कोशिस गरिरहेका छौँ । यसलाई अगाडी बढाउन कोशिस गरिरहेका छौँ । यदी फास्ट ट्रयाक बनाउनुपथ्र्यो भने त फास्ट ट्रयाकमा नियम पनि दिनुपथ्र्यो नि त । खोइ ? चार वटा रुख काट्नलाई ९ महिना लागेको छ । यो कसको गल्ती ? म कसैको पनि भन्दिनँ । वन मन्त्रालयलाई दिन्न । तपाइँहरुले बनाइदिएको नियम हो त्यो । ईआईए, एसईआईए गर्ने कसले बनाइदिएको नियम हो ? हजुरहरुले बनाइदिएको नियम हो । वन मन्त्रालयमा लिएर जान्छ । दश जनालाई नमस्कार गर्छ । पख्नुस् त्यहाँ छलफल भएको छैन, गाउँमा कर्मचारी पुगेको छैन, अनेकथरी छ । उहाँहरुले पनि प्रक्रिया पूरा गर्नुपर्छ । नौ महिना लाग्छ चार वटा रुख काट्न । मैले प्रधानमन्त्रीज्यूलाई, रक्षा मन्त्रीज्यूलाई देखाएको रुख अहिलेसम्म काटेको छैन् । वैशाखमा देखाएको रुख । त्यो समस्या हो । खोइ त फास्ट ट्रयाकमा नियम दिन सक्नुभएको ?’ 

उनले थपे, ‘काम फास्टट्रयाकमा गर्नुस्, नियम, कानुन चाहिँ उही पुरानो छ । २०१७ सालको नियमसुद्ध देखाउनुहुन्छ । यहीँ हो । हामीले विकास निर्माण गर्नलाई विभिन्न किसिमका कानूनहरु जति दिनुपर्ने हो, त्यति दिन सकेका छैनौँ । त्यसले गर्दापनि यो ढिलाइ भइराखेको छ । पैसाको कारणले भएको छैन । कुनै अनियमिता भएको छैन । यही तालले हो भने २०८३ सालमा पनि बन्दैन । मलाई त्यो कानून सच्याएर, ४ वटा रुख काट्न ९ महिना लाग्छ भने यो कानून नसच्चिइकन हुँदैन । मैले गर्न सक्दिनँ भनेको छैन । गर्न सकिन्छ । गराउनुपर्छ ।’

शर्माले नेपाली सेनाले द्रुतमार्ग निर्माणको काममा विद्यमान ऐन, कानून र नियमको परिधिभित्र बसेर ठेक्का लगाएको पनि बताए । उनले द्रुतमार्ग निर्माणको काममा अहिलेसम्म अनियमितता नभएको र आगामी दिनमा पनि अनियमितता हुन नदिने बताए । भ्रष्टाचार भएमा कारबाही गर्ने शर्माको भनाई छ । 

शर्माले भने, ‘हामी भ्रष्टाचार हुन दिदैनौँ । भएछ भने कारबाही पनि गर्छौं । यथेष्ट हामीसँग कानून छ । नेपाल सरकारले बनाइदिएको कानून छ । हामीलाई नेपाल सरकारले यथेष्ट बजेट दिएको छ । तर पैसा छ भन्दैमा जे पायो गर्नु भएन । जमिन पाएको छैन । रुट पाएको छैन । त्यसै लगेर पैसा खन्याउनु त भएन । नेपाली सेनाले गलत काम गर्दैन । नियम, कानुनको परिधिभित्र रहेर काम गर्ने जमर्को गरेको छ । गल्ती भएका करेक्शन गर्नुपर्छ । तर आर्थिक अनियमितता हुनुहुँदैन । त्यसमा हामी असाध्यै सजग छौँ ।’

Advertisement