प्रकाश र युक्ताद्वारा खुम्जुङ्गर हिमालको पहिलो पटक आरोहण

Advertisement

काठमाडौं । अपर मुस्ताङस्थित ६ हजार ७ सय ५९ मिटरमा रहेको खुम्जुङ्गर हिमालको प्रकाश गुरुङ र युक्ता गुरुङले पहिलो पटक आरोहण गरेका छन् । 

उनीहरुले डिसेम्बरको २० तारिखका दिन बिहान १०ः३० बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् ।  उनीहरु उक्त हिमालको चुचुरोमा पाइला टेक्ने पहिलो आरोही बनेका छन् । 

Advertisement

प्रकाश गुरुङ र युक्ता गुरुङ दुबै गाइडको रूपमा काम गर्छन् । २०१५ देखि साथी बनेका युक्ता गुरुङ गोर्खाका हुन् भने प्रकाश गुरुङ चाँही तनहुँका हुन् । 

हामीले इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेड कम्पनीबाट उक्त आरोहण गरेका हौं । हामी दुईले एउटा चुनौतीपूर्ण यात्रा पार गर्दै, चिसो तापक्रम सहन, धेरै दिनसम्म पदयात्रा गरी सफलतापूर्वक आरोहण गर्यौं । ‘हामीले अल्पाइन स्टाइल (शैली) मा आरोहण गर्नु र पहिले कहिले कसैले पनि आरोहण नगरेको हिमालमा पाइला टेक्न सफल हुँदा हामी धेरै खुःसी छौं,’ युक्ता गुरुङले भने ।  

‘खुम्जुङ्गर हिमालमा यसरी आरोहण गरेर हामी देशका विभिन्न क्षेत्रहरूमा पर्वतारोहण पर्यटन प्रवर्द्धन गर्न चाहन्छौं, आगामी वर्षहरुमा पनि अझ् धेरै हिमालहरु अन्वेषण गर्न योजना रहेको उनले सुनाए । 

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार नेपालका भर्जिन हिमालहरु (आरोहण नगरेका) लाई प्रवर्द्धन गर्ने हिसाबले विभागले उहाँहरुलाई साथ सहयोग गरिने छ । यस सफलतासँगै मुस्ताङ क्षेत्रका हिमालहरु पनि प्रवर्द्धन हुने विभागले विश्वास लिएको गुरुङ बताए । 
 

Advertisement