आफूलाई ढाँटेर दुई करोडको बीमा गराएको भन्दै सूर्यज्योतिका सीईओविरुद्ध पीडितको उजुरी

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी (तत्कालिन ज्योति लाइफ इन्स्योरेन्स कम्पनी)का सीईओ प्रकाशविक्रम खत्रीले आफूलाई ढाँटेर दुई करोड रुपियाँको बीमा गराउन लागेको भन्दै एक पीडितले उनीविरुद्ध नेपाल बीमा प्राधिकरणमा परेको उजुरीमाथि छानविन सुरु भएको छ । 

घिमिरेथरका एक बीमितले आफूलाई बैंकबाट ऋण लिने प्रयोजनका लागि दुई करोड रुपियाँको बीमा गर्न लगाएको र एक बर्षपछि ‘सरेन्डर’ (समर्पण) गराइदिने आश्वासन दिएर पनि नगरिदिएको गुनासो गर्दै गएको असारमा प्राधिकरणमा उजुरी दर्ता गरेका हुन् । उक्त उजुरीमाथि प्राधिकरणले छानविन सुरु भएको बताएको छ । 

Advertisement

खत्री सीईओ भएदेखि नै एकपछि अर्को विवादमा पर्दै आएका छन् । ज्योति लाइफमा हुँदा नै गलत वित्तीय विवरण तयरा गरेको पाइएपछि प्राधिकरणले हालै मर्जरअघि कै अवस्थामा छुट्टाछुट्टै लेखापरीक्षण प्रतिवेदन बनाउन लगाएको छ । मर्जर भएर एकीकृत कारोबार भइसकेपछि एकीकृत प्रतिवेदन बनाउनुपर्नेमा दुई वटा प्रतिवेदन बनाउन लगाइएको यो पहिलो घटना हो । यसले गर्दा सूर्या लाइफ र ज्योति लाइफको मर्जरको वैधानिकतामा नै प्रश्न उठ्दै आएको छ । 

सीईओ खत्रीले व्यावसाय बढाउने नाममा बीमितलाई गलत आश्वासन र जानकारी दिएर बीमा गराएको पीडितले आफ्नो उजुरीमा औंल्याएका छन् । बीमा ‘सरेण्डर’ गर्न तीन बर्ष पूरा भएको हुनुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै खत्रीले यसरी बीमा गर्न प्रलोभन तथा दबाब दिनुमा जसरी हुन्छ व्यवसाय बढाउने नियत देखिन्छ । उपभोक्ता अधिकारसम्वन्धी कानुनअनुसार पनि कुनै ग्राहक वा सेवाग्राहीलाई गलत सुचना दिएर वा प्रलोभन तथा दबाबमा वस्तु तथा सेवा बिक्री गर्न पाइँदैन् । 

प्राधिकरणका उच्च स्रोतले दिएको जानकारी अनुसार तत्कालिन ज्योती लाइफमा हुँदा सीईओ खत्रीले उक्त बदमासी गरेका थिए । बीमितले बीमा गरेको एक बर्ष पूरा भएपछि ‘सरेण्डर’ गर्न जाँदा कम्पनीले एक बर्षमा मिल्दैन्, तीन बर्ष कुर्नुपर्छ भनेपछि बीमित घिमिरे आक्रोसित भएका थिए । उनले एक बर्षमा ‘सरेण्डर’ गराइदिने सीईओको आश्वासनपछि आफूले ठूलो रकमको बीमा गरेको तर एक बर्ष पूरा भएपछि सरेण्डर गर्न अस्वीकार गरेर आफ्नो बीमाको रकम खाइदिने योजना बनाएको गुनासो गरेका छन् । 

दुई बर्षअघि (२०७८ मा) तत्कालिन बीमा समितिले सर्कुलर जारी गर्दै जीवन बीमालेखलाई धितो राखेर एकल बीमाशुल्क (सिंगल प्रिमियम)मा पनि तीन वर्ष अवधि पूरा नभई ऋण लिन नपाउने व्यवस्था गर्यो । यस्तो निर्देशन बीमा कम्पनीको सीईओलाई जानकारी नहुने कुरै हुँदैन् । तर सीईओ खत्रीले तीन बर्षअघि ‘सरेण्डर’ गर्न पाइँदैन् भन्ने जानकारी हुँदाहुँदै पनि गत आश्वासन दिएर ललाईफकाई बीमित घिमिरेलाई बीमा गर्न लगाएको पीडितले आफ्नो उजुरीमा गुनासो गरेका छन् । सो कुराको प्रमाण कर्पोरेट नेपालले सुरक्षित राखेको छ । 

खत्रीले उक्त पोलिसिलाई बैंकसँग ‘टाई–अप’ मेलमिलाप सम्झौता गरेर बीमितलाई झुक्याएको देखिन्छ भन्दै प्राधिकरण सोतले बीमितलाई नै बीमालेख धितो राख्न लगाएर गैरकानुनी रुपमा ऋण निकाल्न लगाएको जानकारी दियो । ठूलो रकमको बीमाको नियमित प्रिमियम भर्नसक्ने क्षमता आफूसँग नभएपछि बाध्य भएर पीडित उजुरी गर्न प्राधिकरण पुगेका थिए । 

तीन वर्ष नभई ‘सरेण्डर’ गर्न नपाइने थाहा पाएपछि पीडित बीमितले खत्रीविरुद्ध प्राधिकरणमा उजुरी दिन पुगेका थिए । उजुरीमा तत्कालिन ज्योति लाइफका सीईओ खत्रीले आफूलाई फँसाएको, नचाहिँदो परिबन्धमा पारेको, ठूलो रकमको बीमा गर्न बाध्य बनाएको उल्लेख गर्दै बीमा कम्पनीकै निर्देशनमा आफूले बैंकबाट ऋण निकालेको बताएका छन् । 

अहिले आफूले आफ्नो बीमालेख ‘सरेण्डर’ गर्न पनि नपाई प्रिमियम पनि भर्नुपर्ने, उता बैंकको पनि किस्ता तिर्नुपर्दा आफू ठूलो मारमा परेको बताउँदै पीडितले आफूसँग आत्महत्याको विकल्प नरहेको बताएका छन् । उक्त उजुरीमाथि छानविन सुरु गरेको प्राधिकरणले बीमितले मागेको न्याय प्रदान गर्न आफूहरु प्रक्रियामा रहेको बताएको छ । 

प्राधिकरण स्रोत भन्छ– ‘तत्कालिन ज्योति लाइफ र ज्योति विकास बैंकबीच ‘टाई–अप’मा काम हुनेगरेको देखिन्छ । उहाँ अहिले झन ठूलो कम्पनीको सीईओ भइसक्नुभयो । उहाँजत्तिको मानिसले यस्तो गर्ननपर्ने । किन गर्नुभयो ? उजुरी हेर्दा आफू आफै पनि आश्चर्यमा परेका छौं । छानविन भइरहेको छ । के फैसला हुन्छ ? अहिले भन्न सकिने अवस्था छैन् ।’ 

घटनाको प्रकृति हेर्दा बीमितको आर्थिक हैसियतलाई ध्यान नदिई व्यक्तिगत र संस्थागत फाइदाको लागि मात्रै गलत सुचना र प्रलोभनमा बीमा गराएको देखिन्छ । यसमा सीईओ खत्रीलाई कारवाही हुने कुरामा दुईमत नरहे पनि कारवाही कुन हदसम्म हुन्छ ? भन्न नसकिने प्राधिकरणको भनाई छ । 

Advertisement