राजश्व अशुली निकै निराशाजनक भएपछि आफैले बनाएको बजेटको लक्ष्य संशोधन गर्दै अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले बजेट कार्यक्रमको लक्ष्य सशोधन गर्ने भएको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्रालयले लक्ष्य परिमार्जन गर्ने संकेत गरेको हो । 

बजेट कार्यान्वयनको पहिलो ६ महिनामा मन्त्रालयले बजेट कार्यान्वयनको समीक्षा गर्नेछ । समीक्षामा मन्त्रालयले बजेट कार्यान्वयनको लक्ष्य परिवर्तन गर्नुपर्ने भएको हो । 

Advertisement

बजेट कार्यान्वयनको पाँच महिना १५ दिन सकिँदा बजेटको कुनै पनि लक्ष्य पूरा हुन सकेको छैन् ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले पाँच महिना १५ दिनमा पाँच खर्ब १० अर्ब ८७ करोड खर्च गरेको छ ।

यो वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड खर्च गर्ने योजना बनाएको छ । तर, हालसम्म कूल खर्च लक्ष्यको २९.१७ प्रतिशत मात्रै भएको छ । चौध खर्ब २२ अर्ब ५४ करोड राजश्व उठाउने लक्ष्यमा तीन खर्ब ८८ अर्ब ४४ करोड अर्थात २७.३१ प्रतिशत मात्रै अशुल भएको छ ।

खर्चमध्ये चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड लक्ष्यमा तीन खर्ब ९१ अर्ब १९ करोड खर्च गरेको छ । यो लक्ष्यको तुलनामा ३४.२६ प्रतिशत मात्रै हो ।

यस्तै, विकास खर्चतर्फ तीन खर्ब दुई अर्ब खर्च लक्ष्यमा ४१ अर्ब ६७ करोड मात्रै खर्च भएको छ । लक्ष्यको हालसम्म १३.८ प्रतिशत मात्रै खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड खर्च गर्ने लक्ष्यमा ७८ अर्ब खर्च भएको छ । यो कुल लक्ष्यमा २५.३७ प्रतिशत हो ।

सरकारले यो वर्ष बजेटले राखेको कुनै पनि लक्ष्य पूरा हुने देखिएको छैन् । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले पुससम्मको तथ्यांक जम्मा गरेर विश्लेषण गर्नेछ । सो विश्लेषणबाट बजेटमा खर्च, राजश्व अशुलीको लक्ष्य परिमार्जन गर्नेछ ।

सरकारको खर्चको तुलनामा आम्दानी एक खर्ब १० अर्बले पछि परिसकेको छ । दोस्रो त्रैमासको अन्त्यमा आइपुग्दा यो अन्तर अझै बढ्ने अनुमान गरिएको छ । मन्त्रालय स्रोतले कर्पोरेट नेपालसँग भन्यो, ‘गत वर्ष हामीले अनिवार्य बाहेकको भुक्तानी दिन नसक्ने भनी विभिन्न निकायलाई पत्राचार गरेका थियौं । यो वर्ष पनि सो अवस्थाबाट हामी धेरै पर छैनौं ।’

दुवै संसदबाट पारित भएको बजेट कार्यक्रम अर्थमन्त्रालयले परिवर्तन गर्न सक्दैन् । तर मन्त्रालयले भने संशोधिन अनुमान गर्न सक्नेछ ।

शनिबार नेपाली काँग्रेसको केन्द्रीय समितिमा अर्थतन्त्रबारे ब्रिफिङ गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आफू अर्थमन्त्रीमा आएपछि अर्थतन्त्रमा धेरै सुधार आएको जिकिर गरे । तर यथार्थ त्यस्तो छैन् । 

उनले अर्थतन्त्र नकारात्मक बाटोमा नजानुको कारण नेपाल राष्ट्र बैंकको नीति पनि भएको आरोप लगाउन भ्याए । मन्त्री महतले भनेजस्तै अर्थतन्त्रको बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिक वित्त भने दबाबमा रहेको छ ।

उनले वास्तविकभन्दा निक्कै ठूलो बजेट ल्याएका छन् । उनीमाथि बजेट कटौतीको अवसर हुँदाहुँदै त्यसलाई अस्वीकार गरेर ठूलो आँकडाको बजेट ल्याए महत अदूरदर्शी योजनाले बजेटले निर्धारित गरेको कार्यक्रम सम्पन्न हुननसक्दा मन्त्रालय बजेट कार्यक्रम संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

Advertisement