साढे १७ खर्ब बजेट पाँच लाख योजनामा छर्नुपर्ने, योजनाको संख्या घटाउन कार्यदल गठन

Advertisement

काठमाडौं । सरकारको वार्षिक योजना कार्यक्रम तथा क्रियाकलाप अधिक देखिएको छ । मन्त्रालयगत बजेट सूचना प्रणालीमा ठूलो संख्यामा कार्यक्रमहरु रहेपछि यसको घटाउन कार्यदल गठन गरिएको छ । 

अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उपसचिव जगदिश्वर उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको हो । कार्यदललाई बजेट कार्यक्रम तथा क्रियाकलापलाई प्रतियुनिट लागतको आधारमा परिभाषित गरी कार्यान्वयनयोग्य क्रियाकलाप र प्रतियुनिट लागतको यकिन गर्ने क्रियाकलापको संख्या न्यूनतम संख्यामा रहने गरी घटाउने जिम्मा दिइएको छ । 

Advertisement

विषयगत क्षेत्रसँग सम्बन्धित क्रियाकलापलाई प्रणालीमा राख्नेगरी यकिन गर्न पनि यो कार्यदललाई जिम्मा दिइएको छ । मन्त्रालयगत सूचना प्रणालीबाट नै बजेट तर्जुमा हुने र यसमा भएका योजनारकार्यक्रमरक्रियाकलाप नै स्वीकृत बार्षिक कार्यक्रममा रहने कानुनी व्यवस्था छ । बजेटलाई यथार्थपरक बनाउन क्रियाकलापमा आधारित बजेट प्रणालीको शुरुवात गरिएकोमा हाल पाँच लाखभन्दा बढी क्रियाकलाप पुग्न गएको अर्थ मन्त्रालयको भनाई छ । 

प्रणालीमा धेरै कार्यक्रम देखिँदा बजेट तर्जुमा, कार्यान्वयन र प्रतिवेदनमा समेत समस्या रहेको मन्त्रालयको भनाई छ । कार्यदललाई २०८० माघ मसान्तभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।  

यो कार्यदलको सदस्यहरुमा उपसचिवहरु टीकाराम भुसाल, उपसचिव, पूर्णप्रसाद न्यौपाने, गौरीशंकर उपाध्याय, रमेश शर्मा, दिलिप केसी, ध्रुवप्रसाद पाण्डे, देवनारायण पौडेल छन् । यस्तै, एक जना महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक पनि यस कार्यदलको सदस्य रहनेछन् । 

साथै, शाखा अधिकृत मातृका नेपाल र रमेश कार्की, कम्प्युटर इन्जिनियर अमर सुवेदी, कम्प्युटर अधिकृत कल्पना शाक्य पनि सदस्य रहने यस कार्यदलको सदस्य सचिवमा शाखा अधिकृत रामकुमार श्रेष्ठ छन् ।

Advertisement

Advertisement