एक व्यक्ति वा संस्थाको मात्रै होइन्, व्यावसायिक ग्रुपले तिरेको कर एकमुष्ठ गणना गरि सरकारीस्तरबाटै सार्वजनिक गर्ने व्यवस्था गर्न माग

आर्थिक बर्ष २०७९–८० मा १६ अर्ब १४ करोड रूपियाँ राजश्व बुझाउन सफल भयौंः चौधरी ग्रुप

Advertisement

काठमाडौं  । चौधरी ग्रुपले आर्थिक बर्ष २०७९–८० मा सरकारलाई आफूहरुले १६ अर्ब १४ करोड रूपियाँ कर तिरेको जनाएको छ । यो सरकारको कुल राजश्वमा १ दशमलश ८७ प्रतिशतको योगदान हो । 

चौधरी ग्रुपअन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि आफूहरुले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको भन्दै ग्रुपले अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभुमिमा आफूहरुको योगदान भने उच्च रहेको बताएको छ । 

Advertisement

यद्यपी, राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यवसायिक कारोवारमा परेको असरका कारण अघिल्लो आर्थिक बर्ष २०७८–७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कमि आएको छ । उक्त आर्थिक बर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो । 

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भनेका छन्, ‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहदा र सरकारको कुल राजश्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ ।’ उनले थपेका छन्, ‘हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ ।’ 

चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरि लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउदै लैजान सम्भव हुने भन्दै यस्तो सोंचबाट राजश्वको अपेक्षित बृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुने बताएका छन् । 

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपियाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५–७६ मा ११ अर्ब ६७ करोड, २०७६–७७ मा ९ अर्ब ८७ करोड, २०७७–७८ मा १४ अर्ब २८ करोड, २०७८–७९ मा १७ अर्ब ७२ करोड र २०७९–८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ । 

चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोवाईल्स, शिक्षा, पूर्वाधार एवं न्यू टेक्नोलोजीसम्ममा आफूहरुले तीब्र गतिमा लगानी विस्तार गरिरहेको भन्दै नेपालको समग्र अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउन चाहेको बताएको छ । 

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफूहरुको ग्रुप १५० बर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय रहेको बताउँदै नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेको बताएका छन् । यसबाट देशको समावेशी विकासमा योगदान पुग्ने उनको भनाई छ । 

नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक बर्ष आफ्नो राजश्वमा गरेको योगदानमा आफूहरु ओझेलमा पर्ने गरेको सो समूहले औंल्याउन खोजेको छ । हाल धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सममान गर्ने पद्दती रहे पनि समूहलाई सम्मान गर्ने गरिएको छैन् । 

करदाताको रुपमा व्यवसायमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन भन्दै चौधरी ग्रुपले यसबाट कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको देखिएको बताएको छ । यो दुविधालाई अन्त्य गर्न र आफ्नो समूहले राजश्वमा गरेको योगदानलाई आम जनमानसकावीच सार्वजनिक जानकारीमा ल्याउन कर तिरेको विवरण सार्वजनिक गर्ने गरेको बताएको छ । 

Advertisement