यसै साता एउटा एटीआर भित्राउँदै यती एयरलाइन्स, यसै बर्ष १० वटा जहाज बनाउने योजना

Advertisement

काठमाडौं । यती एयरलाइन्सले यसै साता एउटा एटीआर जहाज नेपाल भित्राउने भएको छ । कम्पनीले शुक्रबारसम्म उक्त जहाज आइसक्ने बताएको छ । अर्को एउटा एटीआर भने अर्को साता आउने जनाइएको छ । 

यतीले ७२–५०० सिरिज जहाज ल्याउन लागेको हो । गत बर्ष पोखरामा एउटा एटीआर जहाज दुर्घटना भई ठूलो जनधनको क्षति हुनुका साथै एयरलाइन्सलाई समेत ठूलो धक्का लागेको थियो । दुई वटा जहाजका लागि करिव अर्ब लगानी भएको कम्पनीको भनाई छ । 

Advertisement

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आफूहरुको योजना एटीआर–७२ जहाज १० वटा पुर्याउने हो भन्दै अहिले ल्याउन लागेको जहाज बंगलादेशको नोभा एयरसँग खरीद गरिएको जानकारी दिए । 

उनले भने, ‘आउन लागेको जहाज त्योउडान गरिरहेको जहाज हो । उनीहरु आन्तरिक उडानबाट अन्तर्राष्ट्रिय  उडानमा जान लागेकाले आफ्नो एटीआर बेचेको हो ।’ अर्को साता आउने भनिएको जहाजसमेत आएपछि यती एयरलाइन्ससँग सात वटा जहाज हुने बर्तौलाले बताए । जहाजको संख्या घटेकाले आफूहरुले मागअनुसार सेवा दिन नसकेको उनले बताए । 

बर्तौलाले भने, ‘हामीले डिमाण्डअनुसारको सेवा दिन सकेको छैनौं । त्यसैले अहिले थप गन्तव्यमा उडान गर्नेभन्दा पनि उडान गरिरहेको गन्तव्यमा नै उडान गर्ने हो ।’ एक बर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको यती एयरलाइन्समा ५१ प्रतिशत यती होल्डिङ्स र ४९ प्रतिशत एसियन लाइफ इन्स्योरेन्सको शेयर हिस्सा रहेको छ । 

यो आर्थिक वर्षभित्र तीन वटा जहाजहरु थपेपछि सुर्खेत, धनगढीलगायतका गन्तव्यमा उडान गर्नेबारे अध्ययन गर्ने उनले बताए । बर्तौलाले थपे, ‘हामीले अहिले सुरक्षामा केन्द्रीत भएर नै काम गरिरहेका छौं । ध्यान दिँदा दिँदै पनि अचानक दुघटना हुन्पुग्यो । यात्रुलाई दिने सेवा सुविधामा पनि अझ बढी ध्यान दिएर काम गरिरहेका छौं ।’

त्यस्तै, यती समूहकै लगानी रहेको तारा एयरको जहाज तीन वटा रहेको र सो ब्राण्डमा नयाँ जहाज थप्ने योजना कम्पनीको नरहेको उनले बताए । दुर्गम क्षेत्र उडानका लागि सरकारले विशेष सुविधा नदिएसम्म ताराको जहाजहरु थप्ने अवस्था नरहेकोबर्तौलाले तर्क गरे । उनले दुर्गम क्षेत्रमा उडान गर्ने जहाजको इन्धनको सरकारले सहुलियत दिनुपर्ने, त्यसमा लगाइने करहरुमा पनि छुट दिनुपर्ने बताए । बर्तौलाले भने, ‘रिपोट क्षेत्रमा उडान गर्ने पाइलटहरु महँगो हुन्छ । उनीहरुको तालिम पनि त्यतिकै महँगो हुन्छ । उनीहरुले गर्ने तालिममा पनि सरकारले कर लाइरहेको छ । त्यसमा पनि सहुलियत दिनुपर्यो ।’ 

Advertisement