बीमासम्वन्धी अनुसन्धान गर्न प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभागबीच समझदारी

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमासम्बन्धी अनुसन्धान गर्ने समझदारी भएको छ । समझदारीपत्रमा मंगलबार प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल र विभागका प्रमुख प्राडा शिवराज अधिकारीले हस्ताक्षर गरे । 

समझदारीपत्रमा प्राधिकरणले बीमाको अनुसन्धान क्षेत्र पहिचान गर्ने, प्राधिकरण र केन्द्रीय अर्थशास्त्र विभागले आपसी साझेदारीमा अनुसन्धानको कार्य अगाडि बढाउने र  अनुसन्धानका लागि आवश्यक वित्तीय सहयोग प्राधिकरणले उपलब्ध गराउने उल्लेख छ ।

Advertisement

देशको अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान, बीमा क्षेत्रको विकास, बीमा समावेशीता, बीमा व्यवसाय, सेवाको गुणस्तर, सञ्चालन खर्च, वित्तीय प्रणाली, वित्तीय साक्षरता, बीमा क्षेत्रका चुनौती, बीमा कम्पनीको नियमन तथा सुपरीवेक्षण, पुनर्बीमा र जोखिम बहन नीति लगायतका क्षेत्रमा अनुसन्धान गरिने जनाइएको छ । 

कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले समझदारीबाट देशको बीमा क्षेत्रको अध्ययन गर्न तथा प्राधिकरणको अनुसन्धान टोलीलाई सबल बनाउन महत्वपूर्ण योगदान पुग्ने आशा व्यक्त गरे । उनले बीमासम्बन्धी अनुसन्धानका लागि आगामी आर्थिक वर्षमा थप रकमको व्यवस्था गर्ने बताए । 

अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख अधिकारीले समझदारी अनुरूप बीमासम्बन्धी अनुसन्धान कार्य तत्कालै अगाडि बढाउने बताए । यो समझदारी चार वर्षसम्म कायम रहने छ । समझदारीका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी, त्रिवि, केन्द्रीय अर्थशास्त्र विभागका प्राडा योगेश रञ्जित र सहप्राडा रेमश थापा उपस्थित थिए ।

Advertisement

Advertisement