गुल्मीकी मनिषा एकै वर्ष लाेक सेवाका पाँच परीक्षामा उत्तीर्ण

Advertisement

गुल्मी ।  गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोक सेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एर्क वर्षमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् । 

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह उत्तीर्ण गरेकी हुन् । 

Advertisement

‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो  ।  छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरें,’ उनले भनिन्, ‘परिश्रमका कारण आफूलाई सफलता मिलेको उनले बताइन् । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको पनि बताइन् । ‘स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ,’ उनले भनिन्, ‘रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ । विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।’ 

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । त्यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा संकायमा अध्ययनरत छिन् । 

Advertisement