आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध गर्ने महानगरको तयारी
प्रतीकात्मक तस्बिर

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंगलबार) देखि न्युरोड क्षेत्रको  सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।
 
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपांग्रे र सात सयवटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिने जानकारी दिए । 
 
महानगर प्रहरी प्रमुख पाण्डेले मंगलबारदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए । उनले भने, ‘मंगलबारदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौं । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौं ।’
 
धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पतालवरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने उनको भनाइ छ ।

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ । 
 

Advertisement

Advertisement