उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले उद्योगका तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमारलाल कर्ण, तत्कालीन प्रबन्धक भरत नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा) ध्रुबबहादुर देवकोटा र महेश काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Advertisement

अख्तियारका अनुसार भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा अनियमितता गरेको थियो । ‘विना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको आरोप लगाउँदै अख्तियारले पौडेलसहितविरुद्ध मुद्दा दायर गरेको हो । 

सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाटको भीएफडी प्यानल पार्ट–ए उदयपुर सिमेन्ट उद्योगले प्राप्त गरेको पाँच वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको भन्दै अख्तियारले मुद्दामा ‘उक्त १६० किलोवाटको २२ लाख ७८ हजार ३०५ रुपियाँ ६० पैसा बराबरको रकम भुक्तानी गरी उद्योगलाई हानि पुर्याएको पुष्टि भएको’ दावी गरेको छ । 

अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार २२ लाख ७८ हजार ३०५ रुपियाँ ६० पैसा बिगो समेत असुल गरी सजाय गर्न माग गरेको छ । तत्कालीन महाप्रबन्धक पौडेललाई भने भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजाय गर्न समेत मागदाबी गरिएको छ । पौडेल पछि नेपाल आयल निगमको कार्यकारी निर्देशक पनि भएका थिए । 

Advertisement

Advertisement