अध्यागमन विभागले शुरु गर्यो ई–भिसा र अनलाइन भुक्तानी सेवा

Advertisement

काठमाडौं । अध्यागमन विभागले आज (शुक्रवार)देखि ई–भिसा तथा अनलाइन भुक्तानी सेवा प्रारम्भ गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले यी सेवाहरुको शुभारम्भ गरेका हुन् । 

विभागले अध्यागमन प्रशासनलाई पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको बताएको छ । अध्यागमन विभाग र अन्तर्गतका कार्यालयहरुमा पूर्णरुपमा डिजिटल र स्वचालित प्रणाली सरु भएको र सेवाग्राहीले सहज र छिटो सेवा लिनसक्ने भन्दै विभागका महानिर्देशक रुद्रसिंह तामाङले सेवाग्राहीले घरमै बसेर सेवा लिनसक्ने अवस्था बनेको बताए । 

Advertisement

विभागले यही माघबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरेको पनि बताएको छ । विभागले शुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोला हुन् भने ई–भिसा एक विदेशी नागरिकलाई दिएर शुरुवात गरिएको छ ।  एशियान हेरिटिज ट्रेक एण्ड एक्स्पडिशनका संस्थापकसमेत रहेका बाँस्तोलाको कम्पनीले नेदरल्याण्ड्सका तीन जना विदेशी पर्यटकको १५ दिनको ई–भिसा लिएका हुन् । ती पर्यटक आउँदो अप्रिलमा नेपाल आउने जनाइएको छ । 

ई–भिसा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिकरुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिनुपर्ने, भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिने बाहेक अन्य सेवाग्राही विभाग आउनुपर्ने छैन् । 

सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालय गए हुनेछ । विभागमा आयोजित कार्यक्रममा पर्यटनसम्वद्ध व्यवसायीहरु पनि सहभागी थिए । यस शुभारम्भले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भन्दै उनीहरु खुशी देखिन्थे । 

अध्यागमन विभागबाट लिने सेवा शुल्क, भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैंकका मोबाइल बैंकिङ एपको क्युआर तथा वालेट सेवा प्रदायक, कनेक्ट आईपीएसबाट अनलाइनमार्फत भुक्तानी गर्नसकिने छ । 

गृहसचिव दिनेश भट्टराईले अध्यागमनलगायत गृह मन्त्रालयअन्तर्गत रहेका सेवाहरुलाई स्वचालित र अनलाइन सेवा दिने योजनामा आफूहरु रहेको बताए । उनले गृह मन्त्रालयले मात्रै लागेर भन्दा पनि अन्य निकायहरुको पनि समन्वय आवश्यक रहेको बताए । 

भट्टराईले अध्यायगमनमा जुनसुकै देशबाट ई–भिसाको लागि आवदेन दिन र भुक्तानी गर्नसक्ने लक्ष्यका साथ काम अघि बढेको बताउँदै तत्कालको लागि भने अनलाइन भुक्तानी नेपालभित्रबाट मात्रै गर्न सकिने बताए । अनलाइन भुक्तानीलाई अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्नसक्ने बनाउने उनले बताए । भट्टराईले भिजिट भिषाका विगतका प्रावधानहरुलाई सहज र सरलिकृत गरिने बताए । 

विभागका महानिर्देशक तामाङले नेपालमा विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई व्यवस्थित, नियमित र नियन्त्रित रुपमा सम अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनको लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको प्रारम्भ गरिएको बताए । 

उनले विभागबाट प्रदान हुने सेवाहरुलाई पूर्णरुपमा अनलाइन र कार्यालयको कार्य प्रक्रिया स्वचालित गरिएको र साथै सबै अध्यागमन कार्यालयहरुलाई स्वचालित प्रणालीको सञ्जालमा जोडिएको बताए । 

अध्यागमन विभागबाट प्रदान हुने सबै सेवाहरु अनलाइन प्रणालीमार्फ​त स्वचालित रुपमा सञ्चालन भइरहेकोले नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमती प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको तामाङले बताए । 

उनले भने, ‘नाता र विवाहको आधारमा गैर पर्यटक भिमा लिने सेवाग्राही बाहेक अन्य सेवाग्राही विभाग आउनुपर्ने छैन । सबै प्रक्रिया अनलाइनमार्फत नै हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्र विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिनेछ ।’

तामाङले लेस पेपरको अवधारणाबाट सुरु गरि पेपर लेसमा पुग्ने उद्देश्यका साथ विभागलाई पूर्णरुपमा अटोमेसन र सेवा प्रवाहलाई अनलाइन बनाइएको जसबाट कार्यालय व्यवस्थापन खर्च तथा कम जनशक्तिबाट सेवा प्रवाह गर्न सकिने भएको बताए । उनले विभागबाट लिने सेवा शुल्क, भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैङ्कहरुका मोबाईल बैंकिङ एपबाट तथा वालेट सेवा प्रदायकको खाताबाट अनलाईन मार्फत भुक्तानी गरि सेवा लिन सक्ने व्यवस्था मिलाईएको बताए । 

Advertisement

Advertisement