‘तपाइँहरुको शरीरमा रगत बगेको छ कि पानी ?’

Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् । 

‘द पायोनियर’ भन्ने भारतीय न्युज पोर्टलमा भारतीय सेनाको रिटायर्ड मेजर जनरल अशोक मेहताले २७ फेब्रुअरी २०२४ मा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ शीर्षकको लेख लेख्दै प्रधानमन्त्री दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा चित्रित गरिएको बताए । पन्तले लेखमा दाहाल भारत चढ्नका लागि उपयुक्त घोडा भएको उल्लेख गरिएको र पूर्वप्रधामन्त्री शेरबहादुर देउवालाई पनि भविष्यमा चढ्नका लागि उपयुक्त घोडा भनिएको भन्दै यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्ने बताए । 

Advertisement

काँग्रेसले समेत आफ्नो सभापतिलाई त्यसो भन्दा चुइँक्क बोल्न नसकेको भन्दै पन्तले काँग्रेस कुन कुनामा मुर्छा परेर बसेको छ ? भनि प्रश्न गरे । उनले भने, ‘त्यो लेखको अन्त्यमा के भनिएको छ भने, भारत अहिले नेपालमा राइट ट्रयाकमा छ । अहिलेको गठबन्धन ठिक छ । त्यसले चीनसँग भएको सम्झौताहरु रोकेर राखेको छ । भारतको लागि राम्रो गरेको छ भन्दै भन्दै लास्टमा के भन्छ भन्दाखेरी प्रचण्ड त्यस्तो पात्र हुन् जो भारतलाई अहिले चढ्नका लागि उपयुक्त घोडा छन् र तबेलामा राखिएका शेरबहादुर देउवा अर्को घोडा हुन् जो भविष्यमा चढ्नका लागि उपयुक्त छ । अर्थ त्यही हो ।’

पन्तले थपे, ‘तर नेपालमा भइरहेका प्रधानमन्त्रीलाई एउटा विदेशीले घोडा भनेर लेख्दा हाम्रो स्वाभिमान कहाँ गयो ? यो अपमानजनक लेख, टिप्पणीप्रति परराष्ट्र मन्त्रालयले आफ्नो प्रतिक्रिया जारी गर्नुपर्दैन ? परराष्ट्र मन्त्रालय त बोलेन बोलेन, नेपाली कांग्रेस पनि कुन कुनामा मुर्छा परेर बसेको छ । चुइँक्क बोल्दैन । आफ्नो सभापतिलाई यति लेखिरहँदा पार्टीको तर्फबाट खण्डन गर्नुपर्दैन ? यसप्रति आपत्ति जनाउनु पर्दैन ? हिजो कुनै कालखण्डमा भारतसँग लड्न भनेर सुरुङ खन्ने माओवादी कमरेडहरु तपाइँहरुको पार्टीको अध्यक्ष भइरहेका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर एउटा इन्डियनले लेख्दा चुइक्क बोल्न सक्नुहुन्न ? कुन सुरुङमा लुकेर बस्नुभएको छ ? तपाइँहरुको स्वाभिमान कहाँ गयो ? तपाइँहरुको शरीरमा नेपालीको तातो स्वाभिमानी रगत बगेको छ कि ? पानी बगेको छ ? दिनुस् जवाफ ।’

Advertisement

Advertisement