नेपालको शेयर बजार विचित्र ! कांग्रेसको अर्थमन्त्रीलाई अविश्वास, कम्युनिष्टलाई विश्वास ?

Advertisement

काठमाडौं । नेपालको शेयर बजारमा अस्वाभाविक चरित्र देखिन थालेको छ । पूरानो सत्ता गठवन्धन भत्किएर कम्युनिष्टहरुको बहुमत रहेको नयाँ गठवन्धन बनेसँगै शेयर बजारमा उछाल देखियो । उद्दार अर्थनीतिको वकालत गर्ने नेपाली कांग्रेसका अर्थमन्त्री हुँदा पटक्कै सुधार आउन नसकेको बजारमा कम्युनिष्ट विचारका अर्थमन्त्री आउने परिस्थिति निर्माणसँगै ठूलो प्रभाव देखियो । 

यसले कांग्रेस र कांग्रेसका नेताहरुप्रतिको आम लगानीकर्ता र जनताको बढ्दो अविश्वासको संकेतको रुपमा समेत हेरिएको छ । सँगै उनको कमजोर कार्यक्षमता र लगानीकर्ता, उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन नसक्नुले पनि शेयर बजारमा सुधार आउन नसकेको नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारको विश्लेषण छ । उनी भन्छन्, ‘अर्थमन्त्री महत वास्तवमा प्रजातान्त्रिक पार्टीको नेता हो । उहाँको पालामा त अझ बजार राम्रो हुनुपर्ने थियो । किन हुन सकेन भने उहाँले सिन्को पनि भाँच्नुभएन् ।’  
   
पछिल्लो समयमा आर्थिक मन्दी गहिरिँदै गएको अनुभव हुन थालेको छ । मानिसहरुमा निराशा र आक्रोस बढ्दो छ । यस्तो बेलामा सरकारले जनतामा आशा र उत्साह जगाउने काम अर्थमन्त्री, उद्योगमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरुले विशेषरुपमा गर्नुपर्ने हो । तर उनीहरु नै सो काममा असफल देखिएका छन् । सबैतिरको बढ्दो निराशाले गर्दा शेयर बजारमा पनि त्यसको असर देखिँदै आएको थियो । तर अर्थ मन्त्रालय अर्थतन्त्र सुधारको उपायमा भन्दा पनि राजश्व कसरी बढाउने ? भन्ने मात्रै केन्द्रीत रहँदै आएको रौनियारको विश्लेषण छ । 

Advertisement

उनले आफूहरुले निवर्तमान अर्थमन्त्री महतसँगको भेटमा लगानीकर्ताको आत्मविश्वास बढाउन लाभकरदेखि ब्रोकर कमिसन घटाउनेलगायतका सुधार दिएको तर उनले केही काम गर्न नसकेको स्मरण गरे । रौनियारले भने, ‘प्रजातान्त्रिक पार्टीको नेता अर्थमन्त्री हुँदा बढ्नुपर्ने शेयर बजार घट्नु, कम्युनिष्ट आउँदा बढ्नु भनेको अस्वाभाविक नै हो । त्यहाँ कमजोरी छ । समस्या छ । क्षमता पुगेन् भन्ने कुरा सहजै भन्न सकिने कुरा हो । यो कुरा उहाँहरुले मनन् गर्नुहोला ।’ 

रौनियारले केही समयको लागि पुँजीगत लाभकर केही समयको लागि ३ प्रतिशत र ५ प्रतिशत कायम गर्ने र नेपाल धितोपत्र बोर्डले सिफारिस गरेअनुसार ब्रोकर कमिसन घटाइदिने हो भने त्यसले शेयर बजारमा नयाँ उर्जा पैसा गर्नसक्ने बताए । यसअघि अर्थमन्त्री फरक पार्टीको र नेपाल राष्ट्र बैंकका गभर्नर फरक पार्टीबाट सिफारिस भएर बनेकाले पनि यसअघि समस्या कायम रहेको हो भन्दै उनले अब गभर्नरले पनि आफ्नो नीतिमा परिवर्तन गर्नसक्ने आशा लिए । 
 
राजनीतिक जोडघाटाउको शिकार पनि शेयर बजारका लगानीकर्ता हुँदै आएका छन् । त्यसमाथि शेयर बजारमा चलखेल गर्नेहरुले मौका छोपेर फाइदा लिने, सर्वसाधारण लगानीकर्ता भने सधैं नोक्सानमा हुने अवस्था, अस्वाभाविक ढंगले शेयर बजारमा उतारचढाव ल्याएर लगानीकर्तामा अन्योलता सिर्जना गर्ने, बजारमा गलत हल्ला फैलाएर शेयर मूल्य घटाउने र बढाउने जस्ता विकृतिहरु पनि रहँदै आएका छन् । यसलाई चिरेर शेयर बजारलाई पारदर्शी र यथार्थपरक बनाउन ठूलो कसरत जरुरी रहेको देखिन्छ । 

राजनीतिक र प्रशासनिक तहमा बस्नेहरुले राम्रो हुँदा त्यसको जस मात्रै लिन खोज्ने, गलत हुँदा त्यसको जिम्मेवारी नलिने, पुँजी बजारको विकासका लागि ठोस काम पनि नगर्ने प्रवृत्ति नै ठूलो समस्याको रुपमा रहेको पूर्वअध्यक्ष रौनियारले बताए । उनले शेयर बजारमा अब भने सुधार आउनसक्ने संभावना बढी रहेको बताए । 

गठवन्धनमा फेरबदलसँगै आज शेयर बजार परिसुचक नेप्सेमा ती पटक सर्किट ब्रेक लागेर झण्डै ११८ अंकले बढेको छ । यसले नयाँ गठवन्धन र सरकारलाई पूँजी बजारले स्वागत गरेकोको रुपमा हेरिए पनि अब बन्ने अर्थमन्त्री, सरकारले लिने नीतिमा धेरै कुरा निर्धारण हुने देखिन्छ । 

Advertisement

Advertisement