स्वदेशी महले पाएन बजार, चालू आवमा मात्रै २७ सय किसान पलायन

Advertisement

चितवन । जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालू आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् ।
 
नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार गत आवमा १६ हजार पाँच सय किसान मौरीपालन व्यवसायमा रहेकामा यस वर्ष घटेर १३ हजार आठ सयमा झरेका छन् । 

‘बजारीकरणमा समस्या हुँदा किसानले व्यवसाय छाडेर पलायन हुनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘कतिपय किसान विदेशिएका छन् भने कतिपयले व्यवसाय परिवर्तन गरे ।’

Advertisement

चरनको अभाव र विदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा पर्दै गएको उनले बताए । बजारमा विदेशी मह बिक्री भइरहँदा नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता भएको उनले सुनाए । विभिन्न स्थानमा मौरी चराउन जाँदा विषादि हालीदिने, चोरी हुने र स्थानीय तहहरूले अन्यत्रबाट मौरी ल्याउन नदिने भन्दै आनाकानी गर्ने गरेकाले समेत किसान पलायन हुँदै गएको उनको भनाइ छ ।

‘किसान पलायन हुनुको मुख्य कारण चरन क्षेत्रको अभाव त छँदै थियो तर अहिले बजारीकरणको समस्या झन् बढी भयो,’ आयातित महले नेपाली बजार भरिएको भन्दै उनले सुनाए, ‘विभिन्न ब्रान्डका नाममा विदेशी मह बिक्री हुने गरेको छ ।’
 
नेपालमा वार्षिक चार हजार दुई सयदेखि चार हजार पाँच सय मेट्रिक टनसम्म मह उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित महमध्ये दुई हजार मेट्रिक टन मह गोदाममा थन्किएको पनि उनले सुनाए । गत वर्षको एक हजार पाँच सय मेट्रिक टन मह अझै बिक्री हुन नसकेको उनको गुनासो छ । गुणस्तरीय भण्डारणको अभावका कारण घरमा खाटमुनि मह राख्नुपर्ने बाध्यता रहेको उनले सुनाए । 

आयातित महलाई सामान्य भन्सारको व्यवस्था भए नेपाली महले बजार पाउन सक्ने घिमिरेको भनाइ छ ।  खुला बजार नीतिका कारण मौरीपालन गर्ने किसान समस्यामा पर्ने गरेको र ब्रान्डका नाममा अन्तर्राष्ट्रिय बजारमा नबिकेको मह नेपालमा आउने गरेको उनको दाबी छ । 
 
आफूहरूले उपभोक्ता र सरकारलाई बुझाउन नसक्दा समस्या बढ्दै गएको उनले बताए । मौरीपालन गर्दै आएका किसानले महले बजार नपाएपछि महासङ्घले चरणबद्ध आन्दोलन गर्न किसानसँग सल्लाह गरेको जानकारी दिए । ‘किसानले मह पोख्ने र मौरी उडाउने कार्यक्रम गर्न दबाब दिइरहेका छन् । तर हामी चरणबद्ध रूपमा अघि बढ्ने योजनामा छौँ,’ उनले सुनाए । 

नेपालमा दुई जातका मौरी पालिँदै आइएको छ । एक लाख ६० हजार घार मेरीफेरा र एक लाख ७० हजार सेरेना मौरी पालिँदै आइएको अध्यक्ष घिमिरेको भनाइ छ । -रासस

Advertisement

Advertisement