‘काठमाडौं महानगरपालिकाको मातहत पर्दैन’ भन्ने होर्डिङ बोर्ड हटाउन तीन दिनको अल्टिमेटम

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको चक्रपथ सुधार आयोजनाले चक्रपथ क्षेत्रमा स्वीकृतिबिना राखिएको होर्डिङ बोर्ड हटाउन भनेको छ । 

केही दिनअघि काठमाडौं महानगरका मेयर बालेन शाहले उक्त होर्डिङ बोर्ड राखिएका तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै सडक विस्तारको काम ढिलाइ भएको स्मरण गराएका थिए ।

Advertisement

आयोजनाले एक सूचना जारी गर्दै काठमाडौं चक्रपथ सुधार योजनअन्तर्गत यसअघि कोटेश्वदेखि कलंकीसम्म पहिलो फेजको कार्य सम्पन्न भई कलंकीदेखि बसुन्धारा पुलसम्म दोस्रो फेजमा काम गर्ने गरी चीन सरकारबीच सन् २०१८ मा एमओयू भइसकेको बताएको छ । साथै, डिटेल इन्जिनियरिङ डिजाइनलगायतका काम चिनियाँ पक्षबाट गर्ने गरी टेक्निकल कन्फर्मेसनसमेत भएको सूचनामा उल्लेख छ । 

तर, खरिद कारबाही एवं सम्झौता नै नभएको हालको अवस्थमा विभिन्न स्थानमा नेपाल सरकार र सांघाई कन्स्ट्रक्सन कम्पनी –चीन) बीच सम्झौता भएको र ‘यो काठमाडौं महानगरपालिकामातहत पर्दैन’ उल्लेख गरी होर्डिङ बोर्ड राखेकामा आयोजनाले आपत्ति जनाएको छ ।

साथै, आयोजनाले यो कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ विपरीत भएकाले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र होर्डिङ बोर्ड हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । सो समयभित्र नहटाएमा सोही ऐनको दाफा १९ (३) अनुसार सडक विभागले नै हटाएर दफा ३० बमोजिम कारबाही अगाडि बढाइने चेतावनीसमेत दिइएको छ । 
 

Advertisement

Advertisement